मेरो छोरो जो स्वयं कृति भएर बाँच्यो अब !
यस उपन्यासको लेखक डा. सुदीप अर्याल अर्थात् मेरो छोरो । मलाई उसको नामका अगाडि स्वर्गीय लेख्ने आँट नै आउँदैन । पहिलो कुरा त मेरो आफ्नै कोख फोरेर जन्मेको मेरो मुटुको टुक्रालाई म कसरी स्वर्गीय भनूँ ? मेरा पनि चाहना थिए–म ऊभन्दा पहिले बितुँ र उसले मेरो काँधीकाठ गरोस् । तर दैवको लीला, बाटो उल्टियो र मैले नै त्यो बालकलाई आर्यघाट लगेर जानुपर्यो र आफ्नै आँखा अगाडि आफ्नै सन्तान खरानी भएको देख्ने अभिशप्त आमा भएर फर्किनुपर्यो ।
दोस्रो कुरो, मेरो छोरो अब डाक्टर रहेन । उसैले मनोपरामर्श दिएर ज्यान जोगाइदिएका हजारौँ मान्छे छन् यही समाजमा । तर उही मनोचिकित्सक डाक्टर सुदीप चाहिँ अब रहेन । तर पनि मैले के सुनेकी छु भने अक्षरको साधना गर्नेहरु अमर हुन्छन् । उनीहरको नश्वर देह नासिएर गए पनि उनीहरु आफ्नै कृतिका कारणले कहिल्यै पनि मर्न पाउँदैनन् ।
अचम्म लाग्छ, सधैँ व्यस्त रहने एउटा डाक्टरले कहिले समय निकाल्यो र यो कृतिको रचना गर्यो । एमबिबिएस गरुञ्जेलसम्म पनि ऊ पढी नै रहन्थ्यो । एमडी गरुञ्जेल पनि पढी नै रह्यो । दुवै समयमा ऊ यति व्यस्त हुन्थ्यो कि खाना खुवाउनका लागि पनि आमा उसलाई कुरिरहेकी हुन्थेँ ।
कसरी समय मिलायो थाहा छैन, तर यो उपन्यास लेखेछ । लेख्न पनि आफ्नै विषयसँग मिल्ने यस्तो अद्भूत कथा लेखेछ । कथा पढेर । मन फेरि भग्न भयो । हृदयका भित्तामा लागेका घाउका पाप्राहरु फेरि उक्किएर म फेरि अर्कै प्रकारले घाइते भएँ ।
कल्पन्छु– यस कथामा उसैद्वारा लेखिएकी नायिका ‘क्रान्ति, लाई मनोउपचार गरेर बचाउन सफल भएको मेरो छोराले आफूलाई पनि त्यसरी नै बलियो बनाउन सकेको भए !
दुनियाँको जीवनलाई अनमोल ठानेर मनोपरामर्श दिने मेरो छोराले आफ्नो जिन्दगीलाई पनि त्यस्तै अमूल्य ठानिदिएको भए !
तर…
तर भगवान्को इच्छा अर्कै रहेछ ।
अब मेरो छोरो एक चिकित्सक भएर होइन, एक उपन्यास बनेर बाँच्ने भयो । सहिदको सन्दर्भको कुरो गर्दा अरुहरुले भनेको सुन्थेँ–मर्नेहरु अमर हुन्छन् ।
हो, मेरो छोरो पनि अल्पायुमै बित्यो । बित्यो पनि होइन, आफूले आफैँलाई बितायो । के भयो, कसो भयो, केही थाहा नहुँदै बिहे गरेको दुई महिनामै ऊ आफैँले महाप्रस्थानको बाटो रोज्यो ।
मेरो छोरो डाक्टर सुदीपको भौतिक उपस्थिति अब कतै छैन यो संसारमा । मेरो छोरो त स्वयं यो कृति भएर बाँच्यो अब मनोचिकित्सकीय साहित्यको संसारमा । छोरो सुदीप, यी अक्षरहरुमा म तिमिलाई नै देखिरहेछु । तिम्रा यी अक्षरकै ऐनामा अब मैले पनि आफ्नो बुढ्यौलीलाई हेर्ने अभ्यास गरिरहनेछु ।
प्यारो छोरा ! तिमी अक्षर भयौ । ठानेकी छु, तिमी अमर भयौ । तिम्रो आत्मालाई चिर शान्ति मिलोस्, प्रिय छोरो !
सरस्वती अर्याल
बबरमहल, काठमाडौँ ।
हो, कुनै पनि बाबुआमालाई आफ्ना सन्तानाको नामका अगाडि स्वर्गीय लेख्ने आँट कसरी आउला ? आउँदैन । आफैले जन्माएको आफ्नो मुटुको टुक्रालाई श्रद्धाञ्जली दिने शब्द कुन आमासँग होला ? हुँदैन, भेटिँदैन । यहाँ एउटी आमाले आफ्नो युवा र कल्कलाउँदो उमेरमा संसार छोडेको छोरालाई श्रद्धाञ्जली लेख्दा निकै काँपेकि छिन् ।
उनको लेखनी यसरी धर्मराए र कम्पन काँपेको देखिन्छ कि त्यस कम्पनबाट जन्मिएका हरेक शब्दले छोरालाई अमरमात्र बनाउने कोशिस गरेको छ । सरस्वती अर्याललाई आँट भन्दा पनि यस्तो बाध्यता आइलागेको छ कि उनले आफ्नो छोरालाई अक्षरमा अमर देख्न चाहन्छिन् र आफ्नै आँटले यी छोराका शब्दहरुको संगालोलाई पुस्तकाकारमा प्रकाशनमा ल्याएकि छिन् ।
आखिर उनीसँग के नै विकल्प छ र ? विधिको विधान नै उल्टो लेखिएपछि सहनुको अर्काे विकल्प के हुन सक्ला ? आफ्नो छोरालाई अक्षरमा देख्छिन् र भन्छिन्– मेरो प्यारो छोरा, तिमी अक्षर भयौ । उनको मन मनमनै बोल्छ– हो, अक्षर त अमर हुन्छन् नि हगि ? अनि उनी भन्छिन्– ठानेकी छु, तिमी अमर भयौ । बजारमा दिनहुँ कैयौँ पुस्तक निस्किन्छन् र बजारमा आउँछन् । तर सरस्वतीको भावुक मनले उनेका यी श्रद्धाञ्जलीका शब्दले धेरैको मन छुन्छ । धेरैलाई भावुक बनाउँछ । अनि मानिसले प्रश्न गर्छ– एउटी आमाले आफ्नो सन्तानलाई दिने श्रद्धाञ्जलीका शब्द कस्ता हुन्छन् ?
सेवाको भावले ओतप्रोत सानै उमेरमा चिकित्सकीय उचाई हासिल गरेका डा सुदीप अर्याल साहित्यिक व्यक्तित्व थिए । उनको डेढ वर्ष जति अघि निधन भयो । डाक्टरको जीवन व्यस्तताको पर्याय हो नै । तर त्यति सानै उमेरमा आफूलाई चिकित्सक पेशाको उचाइमा पुर्याउँदै र व्यस्त राख्दै सुदीपले कसरी पुस्तक लेखनको समय व्यवस्थापन गर्न सके होलान् ? जो कोहीमा पनि उत्सुकता हुन्छ, त्यो स्वाभाविक हो ।
अर्काे पक्ष के पनि छ भने त्यो उमेरका उनले समाज बुझेर पुस्तकमार्फत् गरेको प्रस्तुतिले पनि पुस्तक पढ्दा अचम्म लाग्छ । किनभने उनले सिर्जना गरेको त्यो उपन्याशको लेखन सजिलो थिएन अनि पात्र र तिनको व्यवस्थापन त्यस्तै गाह्रो । अर्यालको औपन्यासिक कृति ‘क्रान्ति’ पढ्दा त्यसले नेपालको सामाजिक परिवेशलाई बडो राम्रोसँग सिलसिलाबद्ध रुपमा प्रस्तुत गरेको छ । मनोचिकित्सा विशेषज्ञ युवा डा अर्यालको पुस्तक उनको देहावसानको वर्ष दिनपछि प्रकाशनमा आएको हो र त्यसको प्रकाशन आमा सरस्वती अर्यालले गरेकी हुन् ।
आमा सरस्वती पनि साहित्यिक संसारकी एक श्रष्टा हुन् । डा सुदीपले आफ्नो पेशागत कर्म निर्वाहका क्रममा भोगेका अनुभव र गारोसारोलाई यस कृतिमा समेटेका छन् । आफ्ना अनुभव र घटना–सन्दर्भमाथि आधारित उपन्यास ‘क्रान्ति’ले वास्तवमा नेपालमा सामाजिक क्रान्तिकै एक झझल्को प्रस्तुत गरेको छ । त्यो कुनै हतियार या युद्धको होइन कि मनोसामाजिक क्रान्ति हो ।
जसका अक्षरहरुले सामाज बदल्न र राम्रो सामाजिक रिती बसाल्न सहजीकरण गर्दछन् । सो कृति गत हप्ता काठमाडौंमा लोकार्पण गरिएको हो ।
कलिलै उमेरमा डा सुदीपले छोडिगएको उपन्यास ‘क्रान्ति’ किशोरावस्था र मनोविज्ञानमा चासो राख्ने सम्पूर्ण पाठकका लागि एउटा रोमाञ्चक सिर्जना हो । किशोर मनको आवेग, त्यसमाथि अभिभावकहरूको अवरोध, र त्यसले पार्ने गहिरो कुप्रभाव मानव समाजको एउटा सर्वकालिक तर कटु यथार्थ यसमा समेटिएको छ ।
बाबुआमाले किशोरावस्थामा प्रवेश गरेका छोराछोरीको मनोविज्ञानलाई संवेदनशील भइ बुझेर कदम चाल्ने हो भने त्यो आफैमा एउटा क्रान्ति हुनेछ र छोराछोरीले आफूले इच्छ्याएका सफलताका मुकामहरू चुम्नेछन् भन्ने सन्देश उपन्यासले पाठकमाझ प्रस्तुत गरेको छ । चिकित्सा शास्त्र, विशेषगरी मनोचिकित्साका कतिपय प्रसङ्गहरू विशुद्ध साहित्यक परम्परामा अभ्यस्त पाठकहरूका लागि नयाँ चाखका विषय पनि बन्नेछन् ।
मणिपाल शिक्षण अस्पताल पोखराबाट एमबीबीएस तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान (त्रिवि शिक्षण अस्पताल) बाट मनोचिकित्समा एमडी गरेका अत्यन्त प्रतिभाशाली युवा थिए डा अर्याल । सुदीप अर्याल स्मृति कोषका संस्थापक दिवंगत सुदीपका आमा–बुबाले यस कृतिमार्फत् डा सुदीपलाई अमर बनाउन गरेको प्रयास प्रसंशनीय छ ।
डा सुदीपकी आमा नियात्राकार सरस्वती अर्यालले कुन मनले पुस्तकको भूमिका लेख्न सकेकि छिन् भन्ने कुराको अनुमान कमैले मात्र गर्न सक्छ । तर यसै कृतिमा आफ्नो छोराको अनुहार हेर्ने उनको इच्छाको जन्मका लागि पनि सानो साहसले पुग्दैन होला । पुस्तकको भुमिकाका यी शब्दहरु यसैको पृष्ठभूमिका उपज हुन् ।