
काठमाडौँ । सरकारले समयमै रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशन गरेर दुवै कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न लेखी पठाएपछि कार्यालयले दुईदुई वर्षका लागि कालोसुचीमा राखेको हो । सस्तोमा ठेक्का पारेका यी कम्पनीले मल आयात नै गरेनन् । मल आयात नहुँदा रोपाइँको मुखमै मलको चरम अभाव भएको थियो । त्यसपछि कृषि सामग्रीले ठेक्का रद्द गरी धरौटीसमेत जफत गरेको थियो ।
शैलुङले चीन, रसिया, साउदीलगायत मुलुकबाट आयात गर्ने सहमति गरेको थियो । ३० हजार टन युरियाबाहेक शैलुङले तेस्रो ठेक्काअन्तर्गत २५ हजार टन मल आयात गर्ने सम्झैता गरेको थियो । शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।
मुक्तिनाथ कृषि कम्पनीले पनि ३२ हजार टन युरिया र २० हजार टन डीएपी मल आयात गर्ने ठेक्का सम्झैता गरेको थियो । नेपाली कम्पनीहरूको व्यवस्थापन पक्ष कमजोर हुँदा आयातमा ढिलाइ भइरहेको कृषि कम्पनीको दाबी छ । कान्तिपुर दैनिक