काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताउनु भयो । उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताउनु भयो । डा अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।
उहाँले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनु भयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कोभिड १९ संक्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रुपमा केही देशहरुमा संक्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त संक्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरु देखिन्छ ।’
‘हामीकहाँ अहिले पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको अवस्था छ । संक्रमण पुष्टि हुने दर अथवा मानिसहरु समुदायमा बिरामी हुने दरहरु, अस्पताल भर्ना हुने, समग्र कुराहरु हेर्ने हो भने अहिले त्यस्तो धेरै त देखिन्न । अहिले सिजनल फ्लूसँग पनि जोडिएर डेङ्गुको पनि प्रकोप एकातिर । कोभिडको संक्रमणपनि सँगसँगै रहेर पनि मानिसहरु एकातिर केन्द्रित भएको हुनसक्छ । संक्रमण पुष्टि हुने कुराहरु शुन्य भइसकेको अवस्था अहिले छैन ।’
‘अहिलेपनि देशभरी ६ सयको हाराहारी सक्रिय संक्रमितहरु आधिकारिक रुपमा तथ्यांकहरु प्राप्त भएको हाम्रो विवरणमा देखिन्छ । यसलाई हेर्दाखेरी हामी संक्रमणको कुरालाई अहिलेपनि मध्येनजर गरेर सावधानिहरु लिनुपर्छ । जस्तो जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोपका कुराहरुलाई हामीले विशेष रुपमा केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था अहिले पनि छ ।’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उहाँले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनु भयो ।
उहाँले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताउनु भयो । उहाँले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा। अधिकारीले आग्रह गर्नुभयो ।