
काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलमा झुण्डिएको अवस्थामा फेला परेकी एक महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
तीन दिनअघि नख्खुडोलस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी २८ वर्षीया वसन्ती कुमालको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो।
प्रहरीका अनुसार वसन्तीको हत्या आरोपमा उनका २९ वर्षीय श्रीमान् राम कुमाल पक्राउ परेका छन् । आपसी विवादपछि कुमालले श्रीमतीको घाँटी थिच्नुका साथै टाउकोमा ताल्चाले हिर्काएर श्रीमतीको हत्या गरेका थिए ।
त्यस दिन मादक पदार्थ सेवन गरेका कुमालले श्रीमतीमाथि पहिल्यैदेखि शंका गर्दै आएको र त्यही विषयमा विवाद हुने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । हत्यापश्चात आत्महत्याजस्तो देखाउन कुमाललेले श्रीमतीलाई झुन्ड्याएको ललितपुर प्रहरीले बताए ।
कुमालदम्पती दुवैजना काठ कारखानाका मजदुर हुन् । उनीहरूका ७ वर्षका छोरा छन् ।