काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘मानवीय आवश्यकता पूरा नभएपछि गाउँबाट सहरमा आउने, सहरमा सोचेजस्तो रोजगारी र जीवन चल्ने आम्दानी नभएपछि विकल्प खोज्न थाल्छन् । उनीहरुमा भएको यो अभावको फाइदा उठाएर अरुले ओसारपसार र बेचविखन गर्छन् ।’ मानव बेचविखन ओसारपसार तथा नियन्त्रणका लागि गठित नगर स्तरीय समितिको बैठकमा बोल्दै उपप्रमुख डंगोलले, व्यक्तिलाई जोखिमका विषयमा जानकारी गराउन सजग गर्नु पर्ने, जोखिम क्षेत्रहरुमा नियमित निगरानी गर्नुपर्ने बताउनुभएको छ ।
समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार, सम्भावना देखिने सहरको मनोरञ्जन क्षेत्र, श्रम क्षेत्र बढी जोखिममा रहेको उल्लेख गर्नुभयो ।
अवस्था सुधारका लागि सबैको एउटै आवाज चाहिन्छ । बोल्ने एउटा र गर्ने अर्को भयो भने समस्याको बोझ एउटा निकायमा थुप्रिन्छ । बैठकमा प्रहरी उपरीक्षक दिनेश मैनालीले पीडितलाई न्याय र पीडकलाई दण्ड दिन सक्नु पर्ने बताउनुभयो ।
बैठकमा शान्ति फाउन्डेसन, विश्वाश नेपाललगायत संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । त्यस क्रममा सहरी क्षेत्रमा मानव बेचविखन र ओसार पसारको अवस्था, यसको नियन्त्रणका लागि महानगरले अबलम्बन गर्नुपर्ने अनुगमन पद्धति, रेफरल प्रक्रिया, तथ्याङ्क व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । समस्या निराकरणका लागि नगरस्तरीय समितिसँगै वडास्तरीय समिति पनि सक्रिय हुनु पर्नेमा सहभागीहरुको जोड थियो ।
सहरी क्षेत्रबाट हुने मानव बेचविखनलाई नियन्त्रण गर्न, यसबाट पीडामा परेकालाई संरक्षण, पुनस्र्थापना, क्षमता विकास र रोजगार सिर्जना जस्ता कामलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले २०७८ सालमा ‘काठमाडौँ महानगरपालिका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि’ जारी गरिसकेको छ । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ ।
सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने घटना हुने गरेका छन् । समाजमा देखिएका समस्या केलाएर ती समस्या समाधान गर्न नीतिगत, कानुनी र प्रबन्धगत व्यवस्थाका लागि महानगरले कार्यविधि जारी गरेको हो ।
संघ सरकारले सचिवस्तरीय नेतृत्वमा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएजस्तै नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने कार्यविधिले व्यवस्था गरेको छ ।
वन बेचविखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको छ । छलफलमा सहभागीहरुले, सहरका खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा जोखिमपूर्ण क्षेत्र हुन् । पहिले यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुनेमा अहिले श्रमका नाममा आन्तरिक रुपमा ओसारपसार र श्रम शोषण हुने गरेको छ । यौन शोषणजस्तै श्रम शोषणलाई लिनुपर्छ ।
बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।