१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सोमबार र साउनमा महादेवको पूजा किन ?



अ+ अ-

हाम्रा शास्त्रहरूले एकादशीमा तुलसी र विष्णु, मङ्कलबार गणेश, शनिबार पीपल, पूर्णिमामा चन्द्रमा, आइतबार सूर्य, सोमबार महादेवको अनुष्ठान गर्दा साधना फलीभूत हुने बताउँछन् । उत्पत्ति, योगदान, ज्ञान, शक्ति, भूमिका आदिका दृष्टिले अन्यभन्दा जेष्ठ तथा श्रेष्ठ भएकाले उहाँलाई महादेव भनियो ।

उहाँका नन्दी, चौसठ्ठी योगिनी आदि गण छन्, गणेश र कुमार दुई सुपुत्र छन् । महादेवका अनेक आभूषण, आयुध र गहनाहरूमध्ये शिरमा चन्द्रमा छन् । देवता र दानवले समुद्र मन्थन गर्दा उत्पन्न भएका चन्द्रमा महादेवको शिरमा रहेकाले उहाँलाई सोमनाथ (चन्द्रमाका मालिक) भनिन्छ ।

चन्द्रमाका अनेक नाममध्ये सोम पनि एक हो । सोम नै महादेवको शिरमा बसेका कारण सोमबार उहाँको पूजाआजा विशेषरूपले गरिन्छ । ज्योतिषशास्त्रअनुसार सूर्य एक राशिमा झण्डै तीस दिन बस्दछन् । सूर्य मेष राशिमा बस्दा वैशाख माहिना, वृष राशिमा प्रवेश गरेपछि जेठ, मिथुनमा पुग्दा असार एवं कर्कट राशिमा रहँदा श्रावण महिना हुनेहुनाले साउन १ गतेलाई कर्कटसंक्रान्ति भनिन्छ । कर्कट राशिको ग्रह स्वामी चन्द्रमा हुन् ।

प्रत्येक राशिका आफ्ना ग्रह स्वामी हुन्छन् जस्तै सिंहका सूर्य, धनु र मीनका स्वामी बृहस्पति आदि । साउन महिना (कर्कट राशि)का ग्रह स्वामी चन्द्रमा महादेवको शिरमा भएकाले साउन महिनाभरि महादेवको विशेष विधिले पूजा, उपासना, दर्शन, रुद्री पाठ गरिन्छ । साउन महिना र सोमबार शिवालय रुद्री पाठ गरिन्छ । रुद्र पनि महादेव नै भएकाले सोमबार एवं साउन महिनामा रुद्रीपाठ गरिन्छ ।

साउन महिनाले हरियालीलाई स्वागत गर्छ । रुखो जमिनमा पनि वनस्पति टुसाउँछ । यसकारण हरिया चुरा र कपडा लगाएर साउनको महत्वलाई बढाइन्छ । श्रावणसंक्रान्तीका दिनमा लुतो फालेर निरोगी र सबल जीवनको कामना गरिन्छ । साउन महिना महादेवको महिना हो । महादेवलाई वैद्यनाथ पनि भनिन्छ ।

अर्कोतर्फ नेपाल कृषीप्रधान देश हो । खेतीपातीको समयमा अनेक रोग र चोट लाग्न सक्छन् । यसलाई निको बनाउन पनि लुतो अर्थात् रोग फाल्ने उत्सव मनाइयो । साउनमा मेहन्दी लगाउने गरिन्छ । मेहन्दीले छालालाई चम्काउने वा रोगरहित बनाउन सहयोग गर्छ । खेतीपातीका क्रममा लाग्ने रोगलाई हटाउन पनि यो परम्पराको सुरुवात गरियो । अब खेतहरु लडेका छन्, युवाहरु विदेशिएका छन् तर संस्कृति जोगाउने नाममा हामी मेहन्दीमा आकर्षित भएका छौँ ।

खेतीपातीको समयमा पानी नपरे वा खण्डवर्षा भए किसानहरूले शिवालयमा रुद्रीपाठ गरी घर–घरमा जलधारा गर्दछन् । यो परम्परा नेपालका कतिपय स्थानमा अहिलेसम्म देख्न पाइन्छ । जलधारा गरेको सात दिनभित्र पानी परेको प्रत्यक्ष प्रमाण हेर्न टाढा जानुपर्दैन । महादेव हिमालमा बस्नुहुन्छ । हिमालबाटै हिन्दूधर्म, हिन्दू सभ्यता, संस्कृति संसारमा फैलियो । हिन्दूधर्मबाटै अन्ततः शैव सम्प्रदाय र परम्परा जन्मन पुग्यो । हिउँ नै पानीको अटुट स्रोत हो । यसैले महादेवको सम्बन्ध पानीसँग हुन पुग्यो ।

महादेवको शिरमा गङ्गा बसेकी हुनाले उहाँलाई गङ्गाधर (गङ्गालाई धारण गर्ने) भनिन्छ । गङ्गानदी स्वर्गबाट महादेवको जटामा झरेर वेग कम भएपछि पृथ्वीमा ओर्लिएको पुराणहरू बताउँछन् । नेपालका ६४ शिवलिङ्ग, पाशुपत क्षेत्र, जनकपुर आदिसँग महादेवको सम्बन्ध छ । गोसाइँकुण्डको बीचमा राम्रोसँग निहाल्दा महादेवको स्वरूप देखिन्छ ।

कैलाशपर्वमा महादेवको निवास हुनाले आजसम्म कोही चढ्न सकेको छैन । रावणले यहीँ महादेवलाई प्रसन्न गराए । यसरी महादेवको सम्बन्ध हिमाल र पानीसँग हुनाले खडेरीको समयमा कृषकहरूले महादेव वा देवीको प्रार्थना गरी पानीको याचना गर्दछन् । महादेवको सोम (चन्द्र)बारसँग सम्बन्ध हुनाले जलधारा प्रायः सोमबार गरिन्छ । महादेवको शिरमा चन्द्रमा र गङ्गा बसेका छन् ।

जहाँ ज्ञान, शीतल, शान्ति छ, त्यहाँ रिस उठ्दैन, उठे पनि लामो समय रहँदैन त्यसैले महादेवलाई आसुतोष अर्थात् तुरुन्तै प्रसन्न हुने देवताका रूपमा पूजिन्छ । देवताका पनि देवता भएकाले महादेव भनिएको हो । यही कारण अठार पुराणमध्ये दशवटा पुराणमा महादेवको चरित्रामृत, स्तुतिमात्र छ, चारवटा पुराणमा ब्रéाको, दुईवटा पुराणमा देवीको बाँकी दुईवटा पुराणमा विष्णुको वर्णन छ । वेद र उपवेदहरूमा पनि महादेवका स्तुति प्रशस्त पाइन्छन् । महादेवबाट नै मानव स्वरूप निर्धारण गरिएको हो । समयले कुनै असर नपार्ने हुँदा उहाँलाई महाकाल भनिन्छ ।

महादेवलाई वैद्यनाथ पनि भनिन्छ । उनले आफ्ना पुत्र गणेशको शिरमा हात्तीको, दक्षप्रजापतिको शिरमा बोकाको शिर प्रत्यारोपण गरेका थिए । प्रविधिको विकाशसँगै डाक्टरहरूले कुनै दिन शिर प्रत्यारोपण नगर्लान् भन्न सकिँदैन । देवता र दानवले समुद्र मन्थन गर्दा कालकूट विष उत्पन्न भयो । यो विषलाई खान कोही तयार भएनन् । यतिकै छोडे संसारलाई विनष्ट गर्ने, खाए आफैँ नष्ट हुने भएपछि महादेवले त्यसलाई घाँटीमा राखेर ब्रéाण्ड र आफूलाई बचाउनुभयो । सर्प असाध्यै चिसो सरिसृप जीव हो, यसले वायुमण्डलमा रहेका प्रदूषित हावा खाएर मानिसलाई बाँच्न सहयोग गर्दछ ।

महादेवको घाँटीमा बसेको वासुकि सर्पले कालकूट विषको प्रभावलाई कम गर्न सहयोग ग¥यो । विषका कारण महादेवको घाँटी नीलो बन्यो र नीलकण्ठ नाम रहन गयो ।

ज्योतिषशास्त्रअनुसार बन्धन (कालसर्प) योग परे पञ्चमी तिथि वा सोमबार नागलाई दूध चढाइन्छ । महादेव हिमालयमा बस्नुहुन्छ, चिसोमा सर्प बाँच्न सक्दैन । महादेवको कृपा भयो भने विषालु प्राणीलाई प्यारका साथ असम्भव परिस्थिति र वातावरणमा पनि बाँच्न सहज हुन्छ भन्ने विषयलाई यसले पुष्टि गरेको छ ।

पूर्णिमाको रातमा चन्द्रमाको प्रकाशले आकाशको अर्कै गरिमा देखिन्छ जसको झझल्को ‘सत्यम् शिवम् सुन्दरम्’का प्रतिमूर्ति महादेवमा पाइन्छ । नेपाल शैव क्षेत्र भएकाले महादेवसम्बद्ध साधना छिटै सफल हुन्छ । सोमवार शिवालय, हिमालय वा नदी किनारमा बसी उपासना गर्नुपर्छ । ज्योतिषशास्त्रले चन्द्रमालाई जल र मनको कारक ग्रह मानेको छ । मनलाई नियन्त्रण गर्नेले मात्र संसारलाई काबुमा राख्न सक्छ ।

पुराणहरूमा सतीदेवीको मृत्युपछि महादेव विरक्त बनेर तपस्यामा लागेको वर्णन छ । महादेव ध्यान मग्न भएपछि कैलास शून्य बन्यो, सृष्टि चलाउन गाह्रो भयो । महादेवको ध्यान भङ्क गराउन देवताहरूले कामदेवलाई अनुरोध गरे । देवताहरूको अनुरोधलाई स्वीकार गरी कामदेवले महादेवलाई मायाजालतर्फ फर्काउन कामबाण प्रयोग गरे । गुणातीत महादेवलाई यसले असर गरेन बरु कामदेव भस्म भए ।

यसको प्रतीकात्मक अर्थ हो कामवासनाले महादेवलाई छुन सकेन । महादेवलाई मनले नियन्त्रण गर्न सक्दैन किनकि मनका कारक ग्रहलाई शिरमा राख्नुभएको छ । चन्द्रमाले पूर्णिमा तिथिमा समुद्रमा छाल उठाउँछ । मानिसको शरीरमा झण्डै ७० प्रतिशत पानी हुन्छ त्यसकारण मानवलाई चन्द्रमाले अवश्य प्रभाव पार्दछ ।

कामवासनालाई जित्न, जीवनलाई असल पथमा हिँडाउन शिरमा चन्द्रमा धारण गर्ने महादेवको पूजा, प्रार्थना, उपासना गरिन्छ । महादेवलाई जलप्रिय देवता मानिन्छ । अधिकांश प्राचीन एवं प्रसिद्ध शैव धामहरू नदीकै किनारामा छन् । यसरी महादेवको सम्बन्ध पानी र सोम (चन्द्रमा)सँग नजिक भएकै कारण पानी एवं शान्तिका लागि उहाँको साउन एवं सोमबार पूजा, उपासना गरिन्छ ।