
काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत पठाइएको उच्च स्रोतले जानकारी दियो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएपछि सरकार सो घटनाको विषयमा डेढ महिना मौन बसेको थियो ।
गत साता मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले दार्चुला घटनाको विषयमा कूटनीतिक तवरमा हल गरिनुपर्ने सुझाव दिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।
समितिले एसएसबीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।