
काठमाडौं । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे। शुक्रबार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए।
१३ औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे। देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन्। देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरू बताउँछन्। महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ। ‘गुट र टिम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन।’ १४ औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरु भएको छ।
देउवालाई यतिबेला १३ औं महाधिवेशनका सारथीहरू जोगाउनुपर्ने आवश्यक्ता रहेको उनी निकट नेताहरू बताउँछन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन्। तर, सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरूको बुझाइ छ।
विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन्। गुटलाई कायम राखेर एक जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मे–हम्मे छ। शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन्। धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट एक जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम छ। शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरूको समर्थन छ। १३ औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट छन्। शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरू बताउँछन्।
आफ्नो गुटबाट सभापतिमा पौडेल सर्वसम्मत नभए प्रकाशमानले पनि सभापतिमा दाबी गर्ने बताएका छन्। प्रकाशमानलाई बलबहादुर केसीसहितका नेताहरूको साथ दिएका छन्। पौडेल गुटबाट शशांक पनि सभापतिका जबर्जस्त उम्मेदवार हुन्। बीपीपुत्र शशांकलाई सभापतिको उम्मेदवार बनाउन डा। मीनेन्द्र रिजाल, दीपक गिरी, दीपक खड्का लगायतका नेताहरूले जोडबल गरिरहेका छन्। शशांकले शनिबार चितवनमा पत्रकार सम्मेलन गरी आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्।
पौडेल गुटबाट सुजाताले पनि सभापतिमा उठ्ने घोषणा गरेकी छिन्। बीपीपुत्र र गणेशमानपुत्र मिलेर आफूलाई बेवास्ता गरेको भन्दै उनले फरक मोर्चा कस्न थालेकी छिन्। ‘म पछि हट्दिन,’ सुजाता भन्छिन्, ‘मैले पहिला पनि छाडेकै हो।’
१३ औं महाधिवेशनमा छुट्टै गुट बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका कृष्ण सिटौला ‘पर्ख र हेर’को अवस्थामा छन्। यद्यपि, सिटौलाले आफू सभापतिको उम्मेदवार बन्ने आफू निकट नेताहरूलाई बताउँदै आएका छन्। सिटौला गुटका सशक्त गगनले गुट परिवर्तन गरेका कारण सिटौला अप्ठ्यारोमा छन्। सिटौला गुटबाट महामन्त्रीमा चुनाव जित्न कठिन हुने विश्लेषणसहित गगनले गुट परिवर्तन गरेको युवा नेताहरू बताउँछन्।
आफूसँगै गुटका प्रदीप पौडेल र भीमसेनदास प्रधानलाई जसरी पनि ‘सेटल’ गर्नुपर्ने दबाबमा सिटौला छन्। भीमसेनदास प्रकाशमानका विपक्षमा भएकाले सिटौलालाई देउवासँगै ‘समीकरण बनाउन’ सहज हुने अनुमान गर्न थालिएको छ। देउवा गुटका सशक्त निधिले छुट्टै गुटको अभ्यास गरिसकेका छन्। तामझामसहित बानेश्वरमा सम्पर्क कार्यालय खोलेर निधिले महाधिवेशनको तयारी गरिरहेका छन्। युवा नेता एवं प्रवक्ता शर्मा थपिएसँगै निधिको गुट पनि बलियो बनेको विश्लेषण गरिएको छ। अरू नेताहरू पनि थपिँदै जाने निधिको विश्वास छ। निधिलाई १४ औं महाधिवेशनमा सभापति बनाउने भनेर प्रदीप
गिरीले अघिल्लै महाधिवेशनमा वचन दिएका थिए। गिरीले सभापतिमा निधिलाई सघाउने नेताहरू बताउँछन्।
२०७५ पुसमा बसेको महासमिति बैठकले पार्टी विधान संशोधन गर्दै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरेको थियो। प्रत्यक्ष निर्वाचन हुने भएपछि उपसभापति र महामन्त्री दुवै पदमा पनि नेताहरू उम्मेदवार बन्न दौडधुपमा छन्। नेता महेश आचार्य पनि माहोल हेरेर आफू उम्मेदवार बन्ने बताउँछन्। ‘चुनावका बेला प्रभावशाली गुटमा लाग्नु अनौठो होइन,’ आचार्य भन्छन्, ‘माहोल हेरेर मात्र उम्मेदवारी घोषणा गर्छु।’
सभापतिमा कल्याण गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन्। ‘पार्टीका युवा, जनजाति, मधेसी र पिछडिएका क्षेत्रका जनताको समर्थन पाउने आशा गरेको छु,’ गुरुङले भनेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।