६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निर्वाचनमा किन नागरिकको विवेकको अबमुल्यन ?



अ+ अ-

कोही पनि व्यक्ति ३२ लक्षणयुक्त हुँदैन । यो असाधारण क्षमता हो । हरेकमा गुण र अवगुण हुन्छ । कुनै न कुनै विषय १९/२० त हुन्छ नै । यो कुरा जगजाहेर छ । तर, पनि मानिस ३२ लक्षण भएकै खोज्छन् । जुन गुण आँफुसँग छैन त्यो अरुमा खोज्ने प्रयास गर्नेको जमात पनि उत्तिकै छ ।

यो सन्दर्भ यहाँ जोड्नुको तात्पर्य आशन्न स्थानीय तहको निर्वाचन हो । नेपालमा स्थानीय तहको निर्वाचन हेर्ने हो भने म्युनिसिपल निर्वाचन २००४ जेठ ३ मा भएको थियो । त्यसयता नेपालमा १४ वटा स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् भने वैशाख ३० मा हुने निर्वाचन १५ औँ हो । यहाँसम्म आइपुग्दा प्रत्येक निर्वाचनमा नागरिकले देशको विकास गर्न भन्दै यस्तै ३२ लक्षणयुक्त उम्मेद्वार नखोजेका होइनन् । तर, अहिलेसम्म यो दन्त्यकथामा जस्तो सबै गुणले सम्पन्न व्यक्ति भेटिएनन् । तर, खोज्ने क्रम भने रोकिएको छैन ।

हुन न त नेपालको राजनीतिले देश बिगारेको भन्ने जमातले सर्वगुण सम्पन्न व्यक्ति खोज्ने प्रयास गरिनै रहन्छ । त्यो क्रम पछिल्ला दिनमा अझ बढ्दै गएको छ । नयाँ पुस्ताको अपरिपक्वता, पुरानालाई नयाँले उछिन्ने डरका कारण अहिले मुलुक र राजनीति साँच्चै धर्मराइरहेको छ ।

यसपटकको स्थानीय तहको निर्वाचन विगतका भन्दा निकै रोमाञ्चक हुनेवाला छ । नागरिक केही हदसम्म आफ्नो विवेक प्रस्तुत गर्न खोजिरहेका छन् । तर, दलहरूले भने नागरिकको विवेकलाई आकलन नगरीकन जस्तो सुकै उम्मेद्वार उठाइदिइरहेका छन् । केही गर्छु भन्ने उम्मेद्वार स्वतन्त्र उठेका छन् भने मतदाता स्वतन्त्रलाई त नभई कुनै दलको झण्डा बोकेकै ३२ लक्षणयुक्त उम्मेद्वार खोजिरहेका छन् ।

गुणवान उम्मेद्वार खोज्ने भीडमा मतदाता नै अविवेकी हुने क्रम पनि रोकिएको छैन । राजनीतिक दलकै फन्डाको पछि लागेर आफूलाई दिगभ्रमित पार्न आफैलाई अनुमति दिइरहेका छन् । अर्को भाषामा भन्दा मतदाता स्वयं मुर्ख बनिरहेका छन् । जसको सबैभन्दा ठूलो दोष सामाजिक सञ्जाललाई नै जान्छ ।

कस्तो उम्मेद्वार खोजेको भन्ने उत्तर मतदाता सँग छैन कस्तो उम्मेद्वार उठाउने भन्ने उत्तर राजनीतिक दलसँग छैन । अनि यही नभएपछि एक अर्काका पुराना कुरा उचाल्ने र मत आफ्नो पोल्टामा पार्ने घिनलाग्दो खेल सुरु हुन्छ । यो खेल स्थानीय तहको निर्वाचनमा सुरु भइसकेको छ भने यो क्रम प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्म चल्ने छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाको मेयरका ‘हेभीवेट’ उम्मेद्वार केशव स्थापितलाई एउटा कार्यक्रममका केही सहभागीले  -याख-याखती पारे । उनलाई मेयर भएको समयमा महानगरकी एक कर्मचारीलाई यौन दुर्व्यवहार लागेको आरोप छ । सोही कारणले गर्दा बागमती प्रदेशसभामा रहँदा मन्त्री पदबाट राजनीमा दिनुप-यो । तर, घटना अनुसार हालसम्म स्थापितलाई कुनै पनि कारवाही र उजुरी परेको छैन ।

कुनै पनि व्यक्तिलाई कसैले आरोप लगाएको भरमै उसलाई समाजले दोष लगाउने हो भने यो समाजमा कोही पनि बाँकी रहँदैन । तर, पछिल्लो समय उनी सहभागी भएका धेरै कार्यक्रममा उनलाई आरोपीका रूपमा उभ्याइएको छ । संयमता गुमाएर उनले आरोपको खण्डन मात्रै गरेनन् पुष्टि गर्न चुनौती पनि दिए । तर, विषय भने किन स्थापित उम्मेद्वार बन्दा मात्रै यी कुरा आयो भन्ने हो । आरोप पुष्टि नै नभई कसैले बोलेको भरमा पत्याएर मिडियाले समाचार बनाउनु पनि ठीक होइन । यसरी कानूनको उपहास उडाउने काम सञ्चारजगतबाट भइरहेको छ भने नागरिकमा कानूनी अल्पज्ञान पनि छरपष्ट देखिन्छ ।

स्थापित मात्र होइन यस्तै आरोप त पोखराका लागि एमालेले सिफारिस गरेका दीपक पौडेलको पनि छ । भलै उनलाई पछि हटाएर कृष्ण थापाको नाम सिफारिस ग(यो । आरोप लागेका पौडेललाई खासमा सुन चोरेको आरोप लगाइयो । जसको भिडियो नै सार्वजनिक भयो । जुन भिडियोमा पौडेलले सुनको सिक्री खल्तीमा हालेको देखिएको भन्दै अहिले भिडियो भाइरल छ । उनले आफू नभएको बताइरहेका छन् । र, भिडियो अहिलेको पनि होइन ।

यदी चोरेकै भए के हुने थियो ? के चोरले सीमित समयको सजाय पाएपछि समाजमा बस्नै नपाउने हो ? एउटा डाँकु रत्नाकर हुन्छ भने के चोर सज्जन बन्न सक्दैन ? तर, समाज त्यतातर्फ भन्दा पनि चरित्र हत्या गर्न लालायित हुने गरेको दृष्टान्त यी दुई घटनाले प्रष्ट पारेको छ । दोषी प्रमाणित भएको हो वा होइन भन्ने कुरालाई पनि ख्याल नगरी मतदाता भड्कनु र सञ्चारमाध्यम त्यसकै पछि लाग्दा ३२ लक्षणयुक्त गुण भएको व्यक्ति खोज्ने क्रम अझै रोकिएको छैन भन्ने प्रष्टै छ ।

यस्तै हो भने भोलि काठमाडौँ महानगरमा पाँच गठबन्धनकी साझा उम्मेद्वार सिर्जना सिंहलाई पनि कसैले ‘घरमा खाना सधैँ डढाउनेले काठमाडौँ राम्रो बनाउन सक्निनन्’ भन्दै कुतर्क गरेर आरोप लगायो भने के हुन्छ ? कुतर्कको पछि लाग्ने भन्दा पनि विवेकको प्रयोग गर्ने समय होइन र ?

आरोप पुष्टि नभएको कुरालाई जर्बजस्ती पुष्टि गराउने समाज, आफू बाहेक सबै नराम्रो देख्ने मतदाताको बीचमा ३२ लक्षणयुक्त व्यक्ति पटक्कै भेटिँदैन । त्यसैले गुणमा भन्दा पनि दृष्टिकोण र योजनामा बहस गरौँ । राजनीतिक दलले उम्मेद्वारविरुद्ध चालेको गलत गोटीको सिकार मतदाता चाहिँ नहोऔँ ।