१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ



अ+ अ-

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् ।

मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् । गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आउनुभएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताउँनुभयो ।

मन्दिरको महत्वसँगै यस आसपासको क्षेत्रलाई शिक्षा, योग, आयुर्वेद आदिको केन्द्रका रुपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नवनिर्मित मन्दिरको गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल र जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले यस क्षेत्रको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि स्थानीय जागरुकता आवश्यक भएकोमा जोड दिनुभयो । अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण पनि यहाँको महत्व चुलिएको स्थानीयवासी चिरञ्जीवी वाग्लेले बताउनुभयो । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैँं हल्लिएको प्रत्यक्ष देखेको उहाँको भनाइ छ ।

उहाँका अनुसार मन्दिर परिसरमा रहेको कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नुलाई पनि यहाँको शक्तिका रुपमा लिने गरिएको छ । त्यस्तै मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नुलाई पनि दैवी शक्तिका रुपमा लिने गरिएको उहाँले बताउनुभयो ।मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् ।

मन्दिरको महिमा र गरिमा उँचो बनाउँदै यहाँको धार्मिक पर्यटकीय विकास एवं अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति गर्न २०७४ चैत २५ गतेबाट २०७५ वैशाख ३ गतेसम्म श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो । रुद्रभिषेक, सप्तशति पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको थियो उक्त महायज्ञमा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा सङ्कलन भएको मन्दिर निर्माण समितिका सदस्य जानकी थापाले जानकारी दिनुभयो ।

मन्दिरसहित शिवालय, सत्तल आदि निर्माणमा हालसम्म झण्डै रु दुई करोड खर्च भएको जानकारी दिँदै उहाँले महायज्ञमा सङ्कलित रकमसहित गण्डकी प्रदेश सरकारबाट रु ४० लाख एवं गाउँपालिका तथा वडा कार्यलयबाट सहयोग प्राप्त भएको बताउनुभयो । “मन्दिरको प्रवद्र्धन गर्दै यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्न जरुरी देखिएको छ”, उहाँले भन्नुभयो, “मन्दिरसम्म आउने सडकमार्गलाई व्यवस्थित गर्दै मन्दिर आसपासमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने पक्का छ ।”

परापूर्व कालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन् । पूर्वाधार विकाससँगै आवश्यक प्रचारप्रसार गरी यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै यससँग उत्पादनलाई पनि जोड्न सकिने उनीहरूको तर्क छ । (रासस, वासुदेव पौडेल)