६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ईतिहासका कुरा :काठमाडौँ उपत्यकाको पानी कसले खोल्यो ?



अ+ अ-

हाम्रा इतिहासमाथि पुनः शोध, पुनः लेखन, पुनः मूल्याङ्कन हुन आवश्यक छ । शास्त्र प्रमाण, अनुमान प्रमाण र प्रत्यक्ष प्रमाणलाई आधिकारिक तथ्य मानिन्छ । राष्ट्रको उदासिनताले गर्दा व्यक्तिगत प्रयासमा कैयौँ इतिहासका तथ्यलाई हुबहु मान्न र पढाउन हामी तत्पर छौँ । यसमध्ये एउटा इतिहास हो उपत्यकालाई चोभारको डाँडाले थुनेर थलमग्न बनाएको ।

सनातन र बौद्धधर्मग्रन्थहरूले प्राचीन कालमा काठमाडौँउपत्यका विशाल नागदहमा डुबेको बताउँछन् । काठमाडौँ उपत्यकाको इतिहास, पुरातत्त्व र भूबनोटले पनि यसलाई पुष्टि गर्छ । यो मनोरम र विशाल तालमा विपश्वीबुद्धले कमलको बीउ रोपे, जहाँ ज्योतिस्वरूप स्वयम्भूको उत्पत्ति भयो । यसको दर्शन गर्न शिखिबुद्ध आए । त्रेतायुगमा महाचीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर जलमग्न उपत्यकालाई बस्तीयोग्य बनाए ।

सनातनधर्मग्रन्थहरूले यसको श्रेय भगवान् श्रीकृष्णलाई दिन्छ । नागदहमा उपत्यका डुबेको विषयमा दुईमत छैन तर कसले खोले भन्ने आधिकारिक टुङ्गो अहिलेसम्म लागेको छैन । गुहेश्वरी मन्दिरदेखि लगभग २५ मिटरमाथि बायाँतर्फ रहेको शिला एवं पशुपतिबाट मृगस्थली नपुग्दै दायाँतर्फ रहेको ढुंगा, गोकर्ण, चोभारलगायतका स्थानमा पाइने चट्टान एवं उपत्यकाको माटोले यहाँ समुद्र लहराएको पुष्टि हुन्छ ।

हरेक धर्मले आफ्ना ऐतिहासिक पात्रलाई महान् देखाउन उनीहरूका काम, योगदान, क्षमता आदिलाई आश्चर्यजनक रुपमा बयान गर्छन् । राम शाहले गोरखाको डाँडाबाट उपत्यका देखेको, कालु पाँडेले २२ हात लामो तरबार चलाएको सुन्न पाइन्छ । बलवान् राजाहरूले उचाल्न नसकेको शिवधनुषलाई सीताले उचालेको कथा रामायणमा, कालीनाग र कंशलाई कृष्णले सानै उमेरमा तह लगाएको वर्णन महाभारतमा छ ।

चोभारलाई तरबारले काटेर पानी खोलेको विषयलाई प्रविधिले युक्त, विज्ञानलाई आधार मान्ने पुस्ताले कति पत्याउला त्यसतर्फ हामीले चिन्तन गर्नुपर्छ । इतिहास दन्तेकथा होइन तथ्य र प्रमाणको दस्ताबेजमाथि विश्वास गर्ने विषय हो भन्ने कुरालाई भुल्नुहुँदैन । चोभारको चट्टानलाई कृष्ण वा मञ्जुश्रीको नेतृत्वमा खोलिएको हुनसक्छ । कृष्ण र मञ्जुश्री एक्लै आएका थिएनन् । उनीहरूसँगै आएको दलबलले खोस्रने र खोल्ने काम गरे । कृष्णले खोले कि मञ्जूश्रीले ? यसमा इतिहासकारको चिन्तन किन हुँदैन ? हुन त प्राचीन इतिहासको दर्शन गर्न पुराणमा नपुगी सुख छैन ।

कतिपय पुराणमा नयाँ वेदव्यासको भाष्यले अर्को कथा रचिदिएको छ । तिनीहरुको छेउ र पुच्छर समाउँदा पनि इतिहासको भेउ पाउन सकिँदैन । यसरी हामी इतिहासले पनि गरिब हुँदै गएका छौँ, अनुसन्धानले लुखिरे बन्दै छौँ, खोजमा दुब्लाउँदै गएका छौँ । अनि आफ्नो तथ्य बताउन विदेशीका कथालाई भजाउने, अग्रजका रचनालाई फिजाउने काम भएको छ ।

वाग्वतीको प्रवाहले चोभारको पत्थर, गौरीघाटदेखि पशुपतिको सूर्यघाटसम्म कडा चट्टान, गोकर्णेश्वरमन्दिरनजिकको पहरोलाई खियाउन सक्दैन । यहाँका चट्टान हटाउन कसै न कसैले प्रविधिको प्रयोग एवं कामदारको परिचालन गरेको हुनुपर्छ । पशुपतिको सूर्यघाटदेखि गौरीघाटसम्मको वाग्वती बग्ने क्षेत्रमा रहेको चट्टान र गोकर्णमन्दिरनिर रहेको चट्टानलाई श्रीकृष्णको नेतृत्वमा हटाएको हुनुपर्छ । कैलाश डाँडा र मृगस्थलीबीचको भाग जहाँबाट वाग्वती बहन्छिन् त्यहाँ अहिले पनि प्रशस्त कडा पत्थर छन् ।

योगीराज नरहरिनाथले पनि कुनै बेला गौरीघाट, उमाकुण्ड, गुरुमन्दिर, भुवनेश्वरी हुँदै पशुपतिमन्दिरभन्दा पश्चिमतर्फबाट वाग्वती बहन्थ्यो भन्नुहुन्थ्यो । लिच्छविकालका राजा मानवदेवले आफ्नो जघन्य पापको प्रायश्चित गर्दै राखेको शिवलि· हाल गुरुमन्दिरनजिक व्यक्तिविशेषको घरमा छ । अज्ञानवश हत्या वा पाप कर्म गरेमा पवित्र नदीको किनारमा शिवलि· स्थापनासहित प्रायश्चित गर्ने, मोक्षको कामना गरी शिवालय आदि निर्माण गर्ने शास्त्रीय विधान थियो । यहाँ रहेको शिवलि·को अभिलेखमा वाग्वतीको किनारमा शिवलि· राखेर राजा मानदेवले प्रायश्चित गरेको जानकारहरू बताउँछन् । शिलालेख एवं यहाँको भूबनोटले पनि वाग्वती कुनै समय पशुपतिभन्दा पश्चिमबाट बहन्थ्यो कि भन्न सकिन्छ ।

गोकर्ण क्षेत्रमा बसेर विश्रवाका पुत्रहरू (रावण, कुम्भकर्ण)ले तप गरेका चर्चा पुराण र तन्त्रका ग्रन्थहरूमा पाइन्छन् । गोकर्णेश्वरशिवलिङ्क ६४ शिवलिङ्कमध्येको एक हो । शिवलाई जलका प्रिय देवता मानिन्छ । देवीदेवतानजिक पवित्र कुण्ड, पोखरी, झरना, नदी रहेर मनोरम वातावरण बनाउँछन् । गोकर्णको पहाडले छेकेर कुण्ड बनेको स्थान प्रिय र पवित्र लागेर गोकर्णेश्वर यहीँ बसे । गोकर्णेश्वरको ख्याति बढ्नमा विश्रवा ऋषिको ध्यान, कृष्णको पूजा, वाग्वतीको प्रवाह सहायक कारण बनेका छन् । विश्रवा ऋषिको साधना स्थल एवं गोकर्णेश्वरको निवासस्थल भएकाले श्रीकृष्णले यहाँको दहलाई खोलेर गोकर्णेश्वरलाई जलमुक्त गराएका हुन सक्छन् ।

इतिहासलाई कोट्याउँदा स्वयम्भूको चर्चा बौद्धधर्मग्रन्थहरूमा विशेषरूपले पाइन्छ । सिद्धार्थ गौतम जन्मनुभन्दा धेरै पहिले अनेक बुद्धहरू काठमाडौँउपत्यकामा आएका थिए । बौद्ध धर्मावलम्बीहरूको सम्बन्ध स्वयम्भू, नागार्जुनडाँडा, फर्पिङ, दक्षिणकालीक्षेत्र आदिसँग निकट छ । पशुपतिजस्तै स्वयम्भूनाथ पनि आफैँ उत्पत्ति भएका हुन् । जहाँ विभिन्न सम्प्रदायका बौद्धधर्मका अनुयायीहरू दर्शनार्थ पुग्दछन् । बौद्धनाथक्षेत्रमा तिब्बतीलामा र स्वयम्भूमा नेपालीलामाका बौद्धहरूको पहुँच अधिक देखिन्छन् । मञ्जुश्रीले नागदहमा डुबेको उपत्यकालाई सुकाउन प्रज्ञापुस्तक हेरेर सिंहमा चढी तीनपटक तालको परिक्रमा गरे ।

मञ्जुश्रीसँगै केशिनी, उपकेशिनीलगायतका समूह थियो । चन्द्रहास नामको खड्गले चोभारलाई काटी उपत्यकाको पानी खोलेकाले मञ्जुश्रीलाई खड्गमञ्जुश्री पनि भनिन्छ । ‘मञ्जु’को अर्थ सुन्दर र ‘श्री’को अर्थ ऐश्वर्यशाली हुन्छ । यसकारण मञ्जुश्री सामान्य व्यक्ति थिएनन्, उनको स्वरुप सुन्दर, आकर्ष थियो अर्थात् दैवीशक्ति थियो । मञ्जुश्रीका साथमा अलौकिक शक्ति, अद्भूत हतियार, उच्च साधक एवं योग्य शिष्यहरु थिए । उनीहरुकै सहयोग लिई मञ्जूश्रीले चोभारलाई काटे ।

मञ्जुश्रीले चोभारको डाँडा खोलेमात्र उपत्यकालाई बस्तीयोग्य बनाउन सक्ने बुझे । भौगोलिक स्वरुप हेर्दा चोभारको पहाडले रोकेको पानीले पुरै उपत्यका डुब्दैन । चोभारभन्दा दक्षिणतर्फ कुनै अग्लो पर्वतले वाग्वतीलाई रोकेमात्र उपत्यकालाई डुबाउन सक्छ । चोभारभन्दा दक्षिणतर्फ रहेको महाभारत श्रृङ्खलाको अग्लो पर्वतले छेकेमात्र उपत्यका जलमग्न हुन्छ । उपत्यका जलमग्न हुन यहाँ बहने विष्णुमती, रुद्रमती, वाग्वती र मनोहरालगायतका खोलालाई होचाहोचा पर्वतले रोकेर धेरै स्थानमा अनेकौँ ससाना तालहरू बनाएका थिए कि ? भन्ने आभास हुन्छ । चोभारलाई थुन्दा भक्तपुरसम्म त के काठमाडौँ र ललितपुरका माथिल्लो भागसम्म ओभानै हुन्छ ।

चोभारभन्दा तलको जमिन पनि तालमा डुबेको थियो भन्ने विषयलाई त्यहाँको भूबनोटले नै बताउँछ । यसले पनि के देखाउँछ भने चोभारभन्दा रहेको महाभारतपर्वत श्रृङ्खलाको अग्लो पर्वत हटाएपछि उपत्यकाको अधिकांश पानी गयो । त्यसपछि चोभारका पहाडले छेकेर अर्को ठूलो ताल बन्यो जसले स्वयम्भू वरिपरिको क्षेत्रलाई डुबायो ।

मञ्जूश्रीले स्वयम्भूको पूर्वदक्षिणतर्फ ठूलो ताल देखे । यसको अवरोध स्थान चोभारको पहाड हो भन्ने थाहा पाएपछि शिष्यगणको सहयोगमा पानी खोल्न सफल भए । मञ्जुश्री पशुपति आएको चर्चा स्वयम्भूपुराणमा र श्रीकृष्णले स्वयम्भूको दर्शन गरेको तथ्य पुराणहरुमा पाइँदैन । कृष्णले नै पशुपति र गोकर्णेश्वशिवलिङ्कको दर्शनका क्रममा त्यहाँको चट्टान काटी पानी खोलिदिए । अहिले कैलाश र मृगस्थलीबीचबाट बहने वाग्वतीको प्रवाहलाई बन्द गरिदिने हो भने बौद्धदेखि गोकर्णसम्म डुब्छ, गोकर्णमा बाँध बाँध्ने हो भने नयाँपार्टीदेखि सुन्दरीजलसम्मका अधिकांश क्षेत्र डुब्छन् । श्रीकृष्णको सम्बन्ध स्वयम्भूसँग नभई, पशुपति र गोकर्णसँग अधिक थियो ।

श्रीकृष्णको नेपाल आगमनमा शिवपुरीडाँडा, गोकर्णक्षेत्र र पशुपतिक्षेत्रको चर्चा हुनाले गोकर्ण र पशुपतिको दहलाई उनैले खोलेको हुनुपर्छ । मञ्जुश्रीले चोभार खोले । नागदहको पानीले उपत्यकाको माथिल्लो भागसम्म डुबाएको थियो भन्ने तथ्यलाई उपत्यका वरिपरि रहेको पहाडमा पाइने बालुवा मिसिएको माटोले बताउँछ । उपत्यकाको माथिल्लो भागसम्म पानीको प्रवाह पुग्न चोभार थुनिएर सम्भव छैन । यसैले चोभारभन्दा तल कुनै अग्लो पहाडले वाग्वतीलाई थुन्यो र उपत्यका जलमग्न भयो ।

त्यो पहाड कुन हो अनुसन्धानको गर्भमा, खोजको प्रतीक्षामा छ । ठूला तीर्थ, कुण्डका आडमा अन्य तीर्थ वा कुण्ड हुन्छन् । काठमाडौँउपत्यकाको नागदहका आडमा चखेल, बनेपा, कुलखानीलगायतका अन्य कुण्डहरुहरु थिए । गोसाइँकुण्ड, पाँचपोखरी, दूधकुण्डका आडमा अन्य कुण्ड भएझैँ नागदहका आसपासमा अन्य कुण्ड थिए ।

नाला–साँगादेखि धुलिखेल र पनौतीसम्मको भागलाई हेर्ने हो भने कुनै कालखण्ड पानीले छोपेको थियो भन्न सक्ने प्रसस्त आधारहरु छन् । त्यसलाई कसले खोल्यो यसै भन्न सकिन्न । नागदहको पानी हटाई उपत्यकालाई बस्ती योग्य बनाउन श्रीकृष्ण र मञ्जुश्रीले महत्वपूर्ण भूमिका खेले । यहीकारण उपत्यका हिन्दू र बौद्धधर्मावलम्बीहरूको उपासनास्थल एवं तीर्थस्थल बन्न पुग्यो ।