काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिउँसो १ बजे येलो पेगोडा होटल, जमल काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।
कम्पनीको आईपीओमा करीब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदनपरेको यस कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ बाँडफाँट गर्न लागेको हो ।
हालको बाँडफाँट व्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७७ हजार ४५६ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट हुनेछ ।
त्यसपछि बाँकी रहेको ३ कित्ता शेयर थप तीन जनाले एक कित्ताका दरले पाउँनेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गर्नेछन् ।
आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । हाल संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गर्नेछ ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको सहित कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।