
काठमाडौँ — कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनदेखि नै संस्थापन र संस्थापनइतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । सोमबारदेखि सुरु प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा देशैभर संस्थापन र इतरपक्षको प्यानलबीच चुनाव भएको थियो । सोमबार सुरु हुन नसकेका जिल्लामा मंगलबार पनि चुनाव भएका छन् ।
कुल १ सय ६५ निर्वाचन क्षेत्रबाट करिब ४ हजार २ सय महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम २५ देखि अधिकतम २७ जनासम्म निर्वाचित हुने व्यवस्था छ । विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रतिनिधि चयन हुने व्यवस्था भए पनि अल्पसंख्यक र अपांग व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न संख्या थपिएको हो । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले सोमबार १ सय २५ निर्वाचन क्षेत्रको अधिवेशन भए पनि नतिजा आइनसकेको बताए । उनका अनुसार मंगलबार पनि धेरै ठाउँमा मतगणना जारी छ । ‘बुधबारसम्म सबै ठाउँका नतिजा आउने आशा गरिएको छ,’ उनले भने ।
नतिजा आइरहेका कतिपय जिल्लामा संस्थापन र कतिपयमा इतरपक्षले वर्चस्व कायम गरेका छन् । यसअघि संस्थापन पक्षको वर्चस्व रहेका जिल्लामा इतरपक्ष र इतरपक्षको वर्चस्व देखिएका जिल्लामा संस्थापनपक्ष हावी देखिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भएका छन् । क्रियाशील सदस्यता विवादका कारण २ नम्बर प्रदेशमा भने महाधिवेशन प्रतिनिधि चयन गर्न अझै एक साता लाग्ने भएको छ । अहिले पालिकास्तरको अधिवेशन भइरहेका छन् । निर्वाचन समितिका सदस्य घिमिरेले एक साताभित्र प्रदेश २ का ८ जिल्लालगायत देशभरबाट करिब ४ हजार २ सय महाधिवेशन प्र्रतिनिधि चयन हुने बताए ।
प्रारम्भिक नतिजाले संस्थापनइतर समूहबीच साझा उम्मेदवार घोषणा गरेमा सभापति देउवाका लागि चुनौती हुने देखिएको छ । संस्थापनइतर पक्षमा सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् । सभापतिका आकांक्षी धेरै भए पनि तल्ला तहका अधिवेशनबाट संस्थापनइतर समूहको एउटै प्यानल खडा भएको थियो ।
पूर्वमा झापासहित केही जिल्लामा पार्टीमा तेस्रो धारका नेतृत्व गरिरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्रभाव पनि राम्रै देखिएको छ । प्रदेश २ मा संस्थान, संस्थापनइतर पक्षका अतिरिक्त उपसभापति विमलेन्द्र निधिको छुट्टै प्यानल प्रतिस्पर्धामा उत्रने भएको छ । निधिले सभापति देउवासँगको २५ वर्ष लामो सहयात्राबाट अलग हुँदै उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रदेश २ मा प्रभाव रहेको निधिको उम्मेदवारी घोषणाले देउवालाई चुनौती बढाएको हो । देउवा गृहजिल्ला डडेलधुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । संस्थापनइतर पक्षको बहिष्कारका बीच डडेलधुरामा अधिवेशन गराइएको थियो । जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा संस्थापनइतर खेमाका कार्यकर्ता विधानविपरीतका अधिवेशन बदर गर्नुपर्ने माग राख्दै एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा छन् ।
क्रियाशील सदस्यता वितरणमा ‘मनपरी’ गरिएको भन्दै त्यसलाई सच्याई वडादेखि नै पुनः अधिवेशन हुनुपर्ने माग उनीहरूको छ । त्यसलाई नसच्याएसम्म कुनै पनि अधिवेशनमा भाग नलिने भन्दै देउवाइतर खेमाले अधिवेशन बहिष्कार गरेको हो ।
क्रियाशील सदस्यताको विवाद मिलाएर पुनः वडादेखिकै अधिवेशन हुनुपर्ने माग बेवास्ता गर्दै पार्टी सभापति देउवाकै निर्देशनमा निर्वाचन समितिले एकपक्षीय रूपमा अधिवेशन अघि बढाएको आरोप संस्थापनइतर खेमाको छ । देउवा–पत्नी आरजु पनि डडेलधुराबाटै महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने महाधिवेशन प्रतिनिधिमै पराजित भए । काठमाडौं क्षेत्र नम्बर ७ बाट संस्थापनपक्षको प्यानलबाट उनले चुनाव लडेका थिए ।
गण्डकीमा पौडेल पक्ष हावी
गण्डकी प्रदेशमा मंगलबार साँझसम्म विभिन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचित महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व देखिएको छ । ११ जिल्लामध्ये मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाको सबै नतिजा यसअघि नै सार्वजनिक भइसकेको थियो । स्याङ्जामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको छ । अन्य जिल्लाको परिणाम आउने क्रम जारी छ । ११ जिल्लाका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये मंगलबार साँझसम्म १० क्षेत्रको परिणाम सार्वजनिक भएको छ । यी क्षेत्रका २ सय ५५ महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) पक्षमा १ सय ३ देखिएका छन् । यसैगरी संस्थापनइतर अर्थात् पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षमा १ सय ४३ प्रतिनिधि चुनिएका छन् । आठ तटस्थ देखिएका छन् भने एक जना अन्य (गगन थापा) पक्षधरका छन् ।
गोरखामा ५३ महाधिवेशन प्रतिनिधिमा ३२ संस्थापन (देउवा) र १५ पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षका छन् । यसैगरी ६ महाधिवेशन प्रतिनिधि तटस्थ छन् । त्यस्तै, मुस्ताङका सबै २५ जना नै पौडेल पक्षबाट निर्वाचित भएका छन । मनाङमा १५ संस्थापन र १० पौडेल पक्षका रहेका छन् । म्याग्दीमा २७ मध्ये संस्थापनका १६ र पौडेल पक्षका ८, तटस्थ २ र एक जना अन्य पक्ष (गगन थापा) का छन् । कास्कीका ३ मध्ये २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । एउटामा मतगणना जारी छ । दुई क्षेत्रका ५० महाधिवेशन प्रतिनिधिमध्ये संस्थापनमा १३ र अरू पौडेल पक्षधर छन् । स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका ५० प्रतिनिधिमध्ये २३ संस्थापन र २७ इतरपक्षका छन् ।
स्याङ्जामा अहिले संस्थापनइतर पक्षका भनिए पनि महाधिवेशनमा अधिकांशले देउवालाई साथ दिने अड्कल गरिएको छ । तनहुँका दुई निर्वाचन क्षेत्रमध्ये एउटाको नतिजा सार्वजनिक भएको छ । तनहुँ–१ बाट संस्थापनका ४ र पौडेल पक्षका २१ जना प्रतिनिधि चुनिएका छन् ।
सुदूरपश्चिममा देउवाकै वर्चस्व
मंगलबार सम्पन्न मतगणनाअनुसार कञ्चनपुरका तीन निर्वाचन क्षेत्रबाट चयन भएका ७५ जना महाधिवेशन प्रतिनिधिमध्ये देउवा समूहका ५७ जना निर्वाचित भएका छन् । तीनै क्षेत्रबाट संस्थापनइतर समूहका १८ जना निर्वाचित भए । कञ्चनपुर–१ मा संस्थापनइतर पक्षका १६ र संस्थापन पक्षका ९ जनाले जितेका छन् । क्षेत्र नं २ मा २५ जना सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं ३ बाट २ जना संस्थापनइतर र २३ जना संस्थापन पक्षका विजयी भएका छन् । कञ्चनपुर–२ नेता एनपी साउद र ३ रमेश लेखकको क्षेत्र हो ।
डडेलधुरामा जिल्ला सभापतिसहित २६ महाधिवेशन प्रतिनिधि एकलौटी रूपमा देउवा पक्षले जितेको छ । जसमा प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुसमेत छन् । यसैगरी बैतडी, डोटी, कैलाली, अछाममा मंगलबार मतदान सकिएर मतगणनाको तयारी भइरहेको छ । लुम्बिनी प्रदेशका पाल्पा, पश्चिम नवलपरासी र रुकुम पूर्वमा संस्थापनइतर समूहको वर्चस्व देखिएको छ । पाल्पामा दुई क्षेत्रीय सभापतिसहित ५२ जनामध्ये दुई जनाबाहेक सबै संस्थापनइतर समूहका निर्वाचित भएका छन् । पश्चिम नवलपरासीमा दुई क्षेत्रबाट संस्थापन पक्षका २२ जना र इतरपक्षका २८ जना चयन भएका छन् । रुकुम पूर्वमा २५ जनामध्ये २३ जना संस्थापन र दुई जना मात्रै इतर समूहका निर्वाचित भएका छन् ।
यस्तै, मकवानपुरमा पनि सभापति देउवा समूहको वर्चस्व कायम भएको छ । दुवै निर्वाचन क्षेत्रका सभापति, अन्य पदाधिकारी र अधिकांश महाधिवेशन प्रतिनिधि देउवा समूहबाट निर्वाचित भएका छन् । मकवानपुरबाट चयन भएका ५२ महाधिवेशन प्रतिनिधिमध्ये ३७ जना संस्थापन (देउवा) पक्षका छन् । इतरपक्ष (प्रकाशमान सिंहका ८, रामचन्द्र पौडेलका ५, शेखर कोइरालाका १) बाट १४ जना निर्वाचित भएका छन् । एक जना महाधिवेशन प्रतिनिधि तटस्थ छन् । महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका ८ जना, ४० देखि ६० वर्षसम्मका ४२ जना र ६० वर्षमाथिका २ जना मात्र निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार क्षेत्र नं १ को सभापतिमा देउवा समूहका दामोदर खनाल र क्षेत्र २ का सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् ।
(कान्तिपुर दैनिकमा समाचार छ ।)