१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एन्टिबायोटिकको जोखिम



अ+ अ-

डा ढुण्डीराज पाैडेल

काठमाडौँ — प्रथम र दोस्रो विश्वयुद्धका कारण कैयौं एन्टिबायोटिक आविष्कार गरिएका थिए । समयमै निरूपण हुन नसके एन्टिबायोटिकका कारण विश्वयुद्धमा जस्तै अकारण र अकालमा धेरै मानिसको मृत्यु हुने निस्चित छ । 

अन्य विशेषज्ञतामा जस्तै नाक, कान एवं घाँटीको समस्या देखापर्ने बित्तिकै एन्टिबायोटिक अनावश्यक प्रयोग हुने गरेको छ । कडा–कडा एन्टिबायोटिक दुर्गमका समेत निजी औषधि पसल र व्यवसायिकामा समेत पुग्ने गर्छन् ।
घाँटी दुखेर, असजिलो भएर, चिलाएर, निल्न गाह्रो भएर होस् या बोली बस्दा एन्टिबायोटिक सेवन गरिहाल्ने बानी छ । नाक, कान, घाँटी विभागमा घाँटीको समस्या लिएर जचाउन आउने आधाभन्दा बढी बिरामीले प्रतिदिन एक चक्कीको दरले सेवन गर्न मिल्ने ५०० र २५० मिलिग्राम एन्टिबायोटिक एजिथ्रोमाइसिन सेवन गरिसकेका हुन्छन् ।
यो धेरैजसो घाँटी दुखाइमा आवश्यक नपर्ने र विशेष प्रकारको ब्याक्टेरियाको संक्रमणमा प्रभावकारी हुने एन्टिबायोटिक हो । दिनको एक चक्कीका दरले केही दिनमात्रै सेवन गरे पुग्ने यो औषधि दुरुपयोग हुंँदा ड्रग रेसिस्टेन्ट अर्थात औषधि विरुद्ध प्रतिरोध क्षमता विकास हुने गर्छ । यसको अनावश्यक प्रयोगबाट मुटु, कलेजोसम्मलाई असर पुग्छ । सामान्यतयाएक सातामा आफै निको हुने भाइरस संक्रमण रुघाखोकी लाग्ने बित्तिकै एन्टिबायोटिक प्रयोग गर्दा उल्टै हानि पुग्छ ।
एमोक्सिक्लाभ, एमोक्सिसिलिन, क्विनोलिनदेखि विशेष एवं गम्भीर खाले संक्रमणमा प्रयोग गरिने नयाँ एन्टिबायोटिकको समेत दुरुपयोगले चिकित्सा क्षेत्रमा संकट पैदा हुँदैछ । तोकिएको भन्दा कम मात्रा एवं अवधिको अपूरो एवं अधुरो एन्टिबायोटिक प्रयोगले पनि असर पार्छ । घाँटी दुख्ने, खसखस हुने, निल्न गाह्रो हुने, कानतिर दुखाइ सर्ने एवं बोलाइमा अप्ठेरो हुने जस्ता घाँटीसँंग सम्बन्धित समस्यामध्ये केहीमा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । अधिकांश समस्यामा भने एन्टिबायोटिक आवश्यक पर्दैन । घाँटीको समस्या पर्ने बित्तिकै एन्टिबायोटिक सेवन गर्नुभन्दा रोग ठम्याउनु आवश्यक हुन्छ ।
मुखको पछाडिको फ्यारिन्जाइटिस, टन्सिलाइटिस, इपिग्लोटाइटिस, स्वर यन्त्रको ल्यारिन्जाइटिस थाइरोइडको थाइरोइडाइटिस, घाँटीमा गिर्खाहरूको लिम्फाइडिनाइटिसदेखि मांसपेशी एवं विभिन्न ठाउँमा संक्रमण, सुजन पैदा हुनसक्छ । घाँटीमा कुनै वस्तु अड्किँदा पनि दुखाइ र जलन पैदा हुनसक्छ । आमाशयमा खाना पचाउन सहयोग गर्ने अम्लीय पदार्थ फर्केर घाँटीमा जलन भई अप्ठेरो हुनसक्छ ।
सामान्यतया जलन या संक्रमण अल्पकालीन एवं दीर्घकालीन हुन्छन् । अल्पकालीन घाँटीको संक्रमण पनि एन्टिबायोटिक चाहिने र नचाहिने खालका हुन्छन् । विशेषगरी बच्चामा हुने घाँटीको ब्याक्टेरियल संक्रमण जस्तो– टन्सिलाइटिस, इपिग्लोटाइटिस, डिप्थेरिया, कान र पछाडि हड्डीमा समेत दुख्ने र सुन्निने गम्भीर समस्या, घाँटीमा सेतो पिपजस्तो पदार्थ जम्मा भई दुख्ने समस्यामा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
यस्तो अवस्थामा बिरामीलाई भर्ना गरी नसाको माध्यमबाट पनि प्रभावकारी एन्टिबायोटिक चलाउनुपर्छ, नत्र ज्यान जोखिममा पर्न सक्छ । गर्धन मुख्यतया छाला, बोसो, मासु र हड्डीबाट बनेको हुन्छ । गर्धन दुख्दैमा जथाभावी एन्टिबायोटिक सेवन गर्न हँुंदैन । गर्धनको धेरैजसो दुखाइ मांसपेशी या हड्डीका कारण पैदा हुन्छ ।
घाँटी या गर्धनमा उब्जिएको रोगका कारण सिर्जित दुखाइ कानमा सर्न सक्छ । कानको दुखाइ लिएर आउने बिरामीको घाँटी या गर्धनमा समस्या हुनसक्छ । नाक बग्नु, हाछ्युंँ आउनु, बोली धोद्रो हुनु, रुघाखोकीसँंगै घाँटी दुख्नुको कारण भाइरस हो । यसमा एन्टिबायोटिकको कुनै भूमिका रहन्न । रुघाखोकी या भाइरसको संक्रमण हँदा घाँटी दुख्ने, घाँटी रातो हुने र निल्न गाह्रो हुने गर्छ, जुन समस्या सामान्यतया एक सातामा आफै निको हुन्छ । भाइरसकै कारण भाइरलको संक्रमण हँुंदा भिटामिन सी र यथासम्भव पोषिलो खानासहित प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।
रुघाखोकीसँंगै घाँटी दुख्दा अनि मुख र जिब्रोको पछाडि दुईतिर रहेका टन्सिल पनि सामान्यतया रातोमात्रै भई सुन्निँदा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने ब्याक्टेरियाको संक्रमण कारक बनेको हुँदैन । यस्तो संक्रमणको समयमै उपचार नभए ज्यानलाई जोखिममा पार्नसक्ने जटिलता पैदा हुन सक्छन् ।
घाँटी भित्रको जलन अर्थात फ्यारिन्जाइटिस हुँदा पनि दुबैतिरका टन्सिल रातो भई सुन्निएका हुन सक्छन् । यसरी संक्रमण भई एकपटक सुन्निएका टन्सिलको आकार पूर्व अवस्थामा नजाने हुँदा बिरामी र बिरामीका अभिभावक चिन्तित हुने गर्छन् । त्यस्ता टन्सिललाई आवश्यक नपरिकन निकाल्न जोड दिने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले अनावश्यक टन्सिलको शल्यक्रिया रोक्न फाल्नुपर्ने अवस्था तोकिदिएको छ । टन्सिलको आकारमात्रै ठूलो देखेर एन्टिबायोटिक सेवन र शल्यक्रिया गर्नु पर्दैन । घाँटी दुख्यो भन्दैमा धेरै तातो पदार्थ सेवन गर्नुहुन्न, झनै समस्या निम्तिन्छ । बरु तातो र चिसो वस्तु छिटो–छिटो प्रयोग गर्दा किटाणु फस्टाउँछ ।
घाँटी दुख्नुका साथै खकारसहित खोकी लाग्दा एक सातामा सन्चो हुनाको सट्टा बाक्लो सिंगान सहितको खोकी लागे एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुन्छ । घाँटी दुख्दा मुख बाएर भित्रमात्रै होइन, घाँटीलाई बाहिरबाट पनि छाम्नुपर्छ । रुद्र घण्टी या त्यसको मुन्तिर थिच्दा च्वास्स दुख्न गए त्यो थाइरोइडको सुजनका कारण हुनसक्छ ।
यो धेरैजसो भाइरल आफै निको हुने या अन्तरनिहित कारणले सिर्जित हुन्छ । यसमा स्टेरोइड औषधि दिने गरिन्छ । घाँटीमा रहेका अन्य ग्रन्थिहरू (लिम्फनोडहरू) पनि संक्रमण एवं क्यान्सरका कारण दुखाइसहित या दुखाइ बिना पनि सुन्निन सक्छन्, जसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
क्यान्सर या शंका ? आफ्नो पारिवारिक सदस्य, आफन्त या चिनेजानेका कोही व्यक्तिमा घाँटीको क्यान्सर रहेछ भने घाँटीमा अप्ठ्यारो महसुस गर्ने कैयौं व्यक्तिले क्यान्सरको चिन्ता लिने गर्छन् । उनीहरू लामो समयसम्म मनोवैज्ञानिक समस्याले ग्रस्त हुन्छन् र अनावश्यक परीक्षणमा ठूलो धनराशि खर्च गर्छन् ।
दुई साताभन्दा बढी निल्न गाह्रो भए, बोली धोद्रो भए, घाँटी र कानतिर दुखाइ सर्न गए, घाँटीमा गिर्खा या ग्ल्यान्ड बढ्न गए क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । विशेषगरी चुरोट, रक्सी, सुर्तीजन्य, सुपारीजन्य आदि हानिकारक वस्तुका सेवनकर्ता मुख, जिब्रो, घाँटी सम्बन्धी क्यान्सरको सिकार बन्न सक्छन् ।
आणुवंशीय एवं वंशानुगत कारणले पनि सन्ततिहरू थाइरोइड लगायतका क्यान्सरबाट पीडित भइरहेकै छन् । यस्ता जोखिममा रहेका व्यक्तिहरूमा घाँटी दुख्ने, सांँच्चिकै निल्न गाह्रो हुने, स्वर सुक्दै जाने, घाँटीका गिर्खा सुन्निँदै जाने, निको नहुने घाउखटिरा हुने जस्ता लक्षण देखिए पनि क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । (कान्तिपुर दैनिकबाट साभार)


लेखक वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख हुन् ।