२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गुफाभित्र कार्यपालिकाको बैठक !



अ+ अ-

दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।

बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।

पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

बैठकले गोबर ग्याँस जडानका लागि रु तीन लाख ३६ हजार, नौ जना माछापालक कृषकलाई रु छ लाख, विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि थप रु तीन लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले बन्दीपुर अस्पतालमा सञ्चालन गर्न लागिएको शल्यक्रिया सेवाका लागि चाहिने आवश्यक औषधि खरीद गर्ने, दररेट निर्धारण गर्ने, चालू शीर्षकमा रहेका केही बजेटलाई रकमान्तर गर्ने, ढल निकास पोखराबाट प्राप्त रु ४० करोड बजेटबाट वडा नं ४ को टुँडिखेल र झप्री ओदाने पोखरीमा ढल निकासको अनुमति दिने निर्णयसमेत गरेको छ ।

पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।

शुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ ।