१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो ।

घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन् । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन ।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए । सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ । मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विगतका वर्षमा क्षतिपूर्ति पाउन छ महीनाभन्दा बढी समय लाग्ने गर्दथ्यो ।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन् भने नदीमा माछा मार्न जाने गर्दछन् । सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताउनुभयो ।