काठमाडौँ । साताको अन्तिम तथा पुस महिनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेमा गिरावट आएको छ ।
पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ । मंगलवार नेप्से १३७.१८ अंकले बढेर परिसूचक २ हजार ४१८.८५ बिन्दुमा पुगको थियो । तर, बुधवार ४.२३ अंकले घटेको नेप्से परिसूचक बिहीवार भने ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ बिन्दुमा झरेको छ । बुधवार ४.२३ अंकले घटेर २ हजार ४१४.६२ बिन्दुमा ओर्लिएको थियो । ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.८८ अंकले घटेर ४५३.५३ अंकमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९९ प्रतिशत घटेको छ ।
बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ । जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैंकको शेयर ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।