
काठमाडौँ । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”

आगामी महिना बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताउँदै उनले आवश्यक पूर्वतयारी पूरा गरेर मात्र निर्माण सम्झौता र ऋण सम्झौता एकैसाथ गरिने मौखिक समझदारी विश्व बैङ्कसँग भएको जानकारी महाशाखा प्रमुख थापाले दिए । सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । करिब १६ अर्ब रुपियाँँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ ।
चौडाइ छ लेनसम्म
नागढुङ्गादेखि मुग्लिनसम्म करिब ९६ किलोमिटर दूरी रहेको यो सडकखण्डको चौडाइ दुईदेखि छ लेनसम्म हुनेछ । भीरपहरा भएको ठाउँमा दुई लेनको, समतल र बस्ती तथा बजार क्षेत्रमा छ लेनको बनाइने बताउँदै उहाँले भन्नुभयो, “यस सडकखण्डको करिब आधा तीन लेन र नौ किलोमिटर जति चार लेनको हुनेछ ।”
बाइसवटा नयाँ पुल
यस सडकखण्डमा चार लेनका २२ वटा नयाँ पुल निर्माण गरिने जानकारीसमेत उनले दिने । उनका अनुसार दसवटा आकाशे पुल निर्माण गरिनेछ ।
सहायक मार्ग पनि
नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गदेखि धादिङको धार्केसम्म करिब ११ किलोमिटरको सहायक मार्ग निर्माण गरिने जानकारी उनले दिए । त्यसका लागि करिब तीन अर्ब रुपियाँ अतिरिक्त लागत लाग्नेछ ।
त्रिशूली पारिपट्टि पनि सडक
नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि त्रिशूली नदीको पारिपट्टि पनि सडक निर्माण सुरु भएको सडक विभागले जनाएको छ । विकट भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको पृथ्वी राजमार्गको समान्तरमा फिस्लिङदेखि विशालटारम्म त्रिशूलीपारि दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।
यस सडकबाट दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने पृथ्वी राजमार्गको यस खण्डलाई अब विस्तार गर्न आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ । गोरखापत्र दैनिकबाट