उन्माद हाँस्ने मन छ
तर आँटै आउदैन
निर्वाध खुशी व्यक्त गर्न मन छ
तर ह्रृदयै मान्दैन
आखिर किन ?
आफ्नै ह्रृदयलाई सोध्छु
ह्रृदय निकै खुम्चिएर भन्छ
के गर्नु खुशी कतै छैन
आफन्तबाट आफन्तै तर्सिएको छ
चौघेराभित्र जकडिएको छ
अनि कसरी हाँसौ उन्मत्त भएर ?
स्वतन्त्रतापूर्वक पाइला सार्न मन छ
तर पाईलै चल्दैन
कुदन,दौडन,लम्कन मन छ
तर गोडै लाग्दैन
आखिर किन ?
आफनै स्वतन्त्रतालाई सोध्छु ।
स्वतन्त्रता निकै जकडिएर भन्छ
जताततै बन्धन छ, महामारीको त्रास छ
आफू जोगिएर मानव जीवनको
अस्तित्व जोगाउनु छ
अनि कसरी आफनो स्वतन्त्रताले
सिंगो मानव अस्तित्व मेटाउन सक्छु ?
रचना : विदुरचन्द्र लामिछाने