यो पक्कै युद्ध थियो ।
मान्छे मरिरहेका थिए,
सडक र गल्लिहरुमा लाशहरु थिए,
अनि मलामीहरु घरभित्र;
ठुला अएथतन्त्रहरु ढलेका थिए,
साना देशहरु झन् गलेका थिए;
समय साँच्चै भयानक थियो ।
यो त्राशदीबाट कुनै देश अछुतो थिएन
एक एक मान्छे लड्दै थिए,
मोर्चामा नहुनुको कसैलाई पछुतो थिएन
साँच्चै यो असाधरण युद्ध थियो
वास्तवमा विश्वयुद्ध थियो ।
यो युद्ध वा महयुद्ध जे थियो,
बडो उदेकलाग्दो थियो !
कुनै रोमेल, तोजो वा आइजनहावरले
आफ्ना सेनालाई लड्न
मैदानमा जाने निर्देश दिएनन् ;
ती आ-आफ्ना ब्यारेकभित्रै थिए ,
“खबर्दार, निस्कौला!”जर्सापको उर्दि थियो ।
यो लडाइँमा अघि सरेर जाने मूर्ख थियो ,
चुपचाप पर्खेर बस्ने कायर थिएन ।
यो युद्धमा मान्छेले मार्नु कसैलाई थिएन ;
बाँच्नु नै जीत थियो, हार्नु कसैलाई थिएन ।
आफ्नो निरिहता उसले देख्यो
अमोघ ठानेका अस्त्रहरुको व्यर्थतामा !
उसका अभेद्य किल्लाहरु फोरिएका थिए;
हिजो उनीहरु सिमा कालागि लड्दै थिए,
आज आँगनमा लक्ष्मणरेखा कोरिएका थिए ।
अझ अचम्म त मान्छे आफुले बनाएको
बन्दुकको गोली खाएर मरेनन् ,
आफुले नबनाएको औषधिको
गोली खान नपाएर मरे ।
तर यो लडाइँ हारजीतको थिएन ।
थाहा भयो उसलाई
जीवनको सर्वोच्चता जीत मात्र होइन
यहाँ दुश्मन हारेको कदापी थिएन
उसले भने जितेर पनि हारेको थियो ।
यो अस्तित्वको लडाइँ थिएन ;
अस्तित्वबोधको लडाइँ थियो ।
कसैको दम्भको पराकाष्टा थिएन;
मानव अहँकारलाई चेतावनी थियो ।
ईतिहास साक्षी छ
सायद एउटा अदृश्य सिमा छ
मान्छेका लाखौँ गल्ती र किरिमिरी पछि
प्रकृतिको नियममा पनि साफी छ !
महाप्रलय नै चहिन्न त्यसकालागि
सूक्ष्म भाइरस मात्रै पनि काफी छ ! !
सागर शिवाकोटी