१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतमा पुल भासिएपछि आयात निर्यात प्रभावित



अ+ अ-

विराटनगर। विराटनगर भन्सार नाकादेखि चार किलोमिटर दूरीमा पर्ने भारतीय भूमिको मिरगञ्ज पुल भासिएपछि पूर्व क्षेत्रको आयात निर्यात प्रभावित बनेको छ ।

बिहीबार उक्त पुल भासिएपछि विराटनगर भन्सार नाका हुँदै मालवस्तुको आयात निर्यात प्रभावित बनेको हो । यसअघि २०७४ साउन २९ गते क्षतिग्रस्त बनेपछि वैकल्पिक नाकाका रूपमा सुनसरीको सेतुबन्ध (भन्टाबारी) भन्सार नाकाबाट निकासी पैठारी हुँदै आएको थियो । अहिले मिरगञ्ज पुलको मध्यभाग एक फिट भासिएपछि त्यहाँबाट मालवस्तु बोकेका सवारीसाधन वारपार हुन रोकिएको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले वैकल्पिक रुटको विषयमा छलफल भइरहेकाले चाँडै नयाँ नाका सञ्चालन गरिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले वैकल्पिक मार्गका रूपमा अररिया–कुर्साकाटा–जोगबनी नाका सञ्चालनका लागि सहजीकरण गरिदिन भारतीय पक्षसँग आग्रह गरेको थियो । भन्सार कार्यालयले समेत चालू अवस्थाको मार्ग र वैकल्पिक मार्ग एउटै जिल्लामा पर्ने भएकाले सहजीकरणका लागि अपिल गरेको हो ।

अधिकृत तिवारीका अनुसार भारतीय पक्षले भने सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाटै मालवस्तु आयात निर्यात गर्न सहजीकरण गरिने जानकारी दिएको छ । भारतको अररियाका डिस्ट्रिक मजिस्ट्रेटले विराटनगर भन्सार कार्यालयलाई पत्र लेख्दै सुनसरीबाट नाका सञ्चालन गर्र्र्न छलफलका लागि डाकेको अधिकृत तिवारीले जानकारी दिनुभयो ।

“छलफलका लागि भन्सार प्रमुखको टोली त्यता गएको छ । कुर्साकाटाको रुट ग्रामीण क्षेत्रबाट हुने भएकाले २५ टन क्षमताको मात्रै छ,” अधिकृत तिवारीले भन्नुभयो । उद्योगी व्यवसायीले सुनसरीबाट वैकल्पिक रुट प्रयोग गर्दा ४० किलोमिटर टाढा पर्ने तर कुर्साकाटाबाट १० किलोमिटर मात्रै पर्ने भएकाले सहजीकरणका लागि अररियाका डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग आग्रह गर्दै पत्र लेखेको थियो ।

गत बिहीबार पुल भासिएदेखि विराटनगर भन्सार कार्यालयबाट हुने आयात निर्यात प्रभावित बनेको छ । बिहीबार पुल भासिनुअघि नै पार भइसकेका मालवाहक सवारीले शुक्रबार साँझसम्म भन्सार जाँचपास गराइसकेका छन् । त्यसपछि रेलबाट जोगबनीमा अनलोड भएका सामान मात्रै भन्सार कार्यालयमा जाँचपासका लागि भित्रने गरेको अधिकृत तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार शनिबार ४० वटा मालवाहक सवारीसाधन भन्सार क्षेत्रमा प्रवेश गरेका थिए भने आइतबार २०–२५ वटा मात्रै छन् । भारतले मिरगञ्ज पुल नजिकै अर्को नयाँ पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न गरेको छ । त्यसलाई तीव्र रूपले निर्माण सम्पन्न गर्न शुक्रबारदेखि जनशक्ति बढाएको अधिकृत तिवारीले जानकारी दिनुभयो । नयाँ पुल सञ्चालनमा नआउँदासम्म झन्डै एक महिना वैकल्पिक नाका प्रयोग गर्नुपर्ने अवस्था रहेको तिवारीले बताउनुभयो । पुल भत्किएपछि मिरगञ्ज पुल पारिपट्टि नेपालका लागि आयात गरिएको मालवस्तु बोकेका मालवाहक सवारीसाधनको जाम लागेको छ । वैकल्पिक मार्ग टुङ्गो लागेपछि ती मालवाहक सवारीसाधन नेपाल भित्रिने छन् ।

(गाेरखापत्र दैनिकबाट)