२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आफन्त र चिनेजानेका व्यक्तिबाटै महिला बढी असुरक्षित



अ+ अ-

काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा/झट्केलो बुवा, ससुरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो । आर्थिक वर्ष २०७६/७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ । यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।

यसैगरी, हजुरबुवाबाट ६, बुवा-झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा(छोराबीच ३, काका-मामा-ठूलो बुवाबाट ४१, दाजुभाइ-काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर-जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए । ‘आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको देखिन्छ,’ प्रहरी प्रवक्ता कडायतले भने ।

उनका अनुसार पटक पटकको आजित व्यवहार, गर्भ रहने वा रहेको अवस्था र सम्बन्धमा इगो अथवा द्वन्द्वका घटना हुँदा बलात्कार तथा जबर्जस्ती करणीका घटना बाहिर आउने गरेका छन् । प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् । तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा भएको देखाएको छ । जसअनुसार प्रदेश १ मा ५ सय ४२ घटना भएका छन् ।

यसैगरी प्रदेश २ मा ३ सय ४२, बाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७३, प्रदेश ५ मा ३ सय ९९, कर्णाली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घटना भएको तथ्यांक देखाउँछ । राजधानी दैनिक