२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा मुसाको रजाइँ



अ+ अ-

हेटौंडा । झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा लाखौं मूल्यका सिट मुसाले काटेर काम नलाग्ने पारिदिएको छ । हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ । करोडौं लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ । हेटौंडा–४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ । कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ । हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ । हलका करिब ३५ देखि ४० वटा सिट मुसाले टोकेर काम नलाग्ने अवस्थामा पुर्याएको छ ।

हल सञ्चालक नवराज आचार्य भन्छन्– ‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो, जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन् । हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि चिन्तित बनाएको छ ।’ प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए । त्यहीअनुसार मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोखे । मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन भन्छन्– ‘हलमा मुसाले दुःख दिइरहेको छ । करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ ।’ ‘कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ।’ –उनी भन्छन् । अब पनि सञ्चालन नभए फिल्म क्षेत्रदेखि सञ्चालकहरु उँभो लाग्न निकै समय लाग्ने निश्चित रहेको बताउछन् । स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छ । स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालन अनुमति दिन उनीहरुले सरकारसँग अनुरोध गरेका छन् ।

हल सुरक्षित छ भन्ने सन्देश जानु जरुरी रहेको एनएस सञ्चालक आचार्यले बताए। ‘अब पनि नखोले बैंकको किस्ता तिर्नुपर्ने हल सदाका लागि बन्द हुन बेर लाग्दैन । यसले कयौं जनशक्तिलाई थप मर्कामा पार्नेछ।’ –उनले भने । भन्छन्– ‘विद्युत् महसुलमा जरिवाना देख्दा निकै नै दुःख लागेको छ ।’ यतिबेला आम्दानी छैन, त्यसमाथि विद्युत्ले कारबाहीसहित महसुल मागेको आचार्यले गुनासो गरे । पुरानो हल ओम हल २०७५ साल साउनमा आगलागी भएको थियो । २०७६ वैशाखमा नयाँ प्रविधिसाथ हल पुनर्संञ्चालनमा आएको थियो । आगलागीबाट तीन करोड नोक्सान भएको थियो भने नयाँ प्रविधिसहित ल्याउँदा तीन करोडकै लगानीमा पुनर्संञ्चालनमा आएको सञ्चालक महर्जनले जानकारी गराए । कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन । यस क्षेत्र कोरोनाबाट अतिप्रभावित क्षेत्रको सूचीमा पनि परेन । तर यस क्षेत्रका निर्देशक, कलाकार तथा हल सञ्चालकको पीडा भने बढ्दो छ ।

यतिबेला नेपालका चलचित्रप्रेमीहरुले ‘फन मिस’ गरेका छन् । रिफ्रेसमेन्टको माध्यम नै छैन । हलको वातावरण नपाए पनि घरमा टिभी हेरेर समय बिताइरहेका छन् उनीहरु । हुनत युट्युब नभएको हैन, तर युट्युबबाट घरमै फिल्म हेर्दा दर्शकलाई न क्वालिटीयुक्त लागेको छ, न त हलमा जस्तो आवाज नै दमदार । दर्शकहरु कोरोना हटेर फेरि भीडसाथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् । ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशतमात्र दर्शक राखेर सिनेमा हल खोल्न पाउने वातावरण भए हुन्थयो।’ –सिनेमा हल सञ्चालक भन्छन् । नेपाल समाचारपत्र दैनिक