२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण



अ+ अ-

भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिकरूपमा नागीका सुरज राईको परिवारले २०० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको छ । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताए। रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकामा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईको भनाइ छ । उनले भने, “किवीले हाल आएर राम्रो उत्पादन दिन थालेको छ, मकै आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु ।”

राईले इलामबाट बिरुवा ल्याएर खेती शुरु गरेको जानकारी दिनुभयो । किवीको साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । राईको बारीमा रु पाँच लाखदेखि छ लाखसम्मको किवी फल्ने गरेको उनको भनाइ छ । अन्य परिवारको सदस्यको सहयोगबाट खेती गरिरहनुभएका राईले किवीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए। आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमा र केही सदरमुकाममा लगरे बेच्ने गरेको राईले जानकारी दिए । किवी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री गर्दै आएको राईले जानकारी दिए।

नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । “मैले खेती गर्न थालेपछि अन्य साथीहरुको पनि यसतर्फ आकर्षण बढेको छ, सडकको पहुँच वृद्धि भइरहेको छ, आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ”, कृषक राईले भने । किवीखेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए। “उहाँले चार वर्षअघि खेती गरेको देख्दा खास फल्छजस्तो लागेको थिएन तर अहिले अति नै राम्रो फलेको देख्दा मैले पनि खेती गर्ने सोच बनाएको छु ।” किवीखेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले एक हजार ५०० मिटरभन्दा माथि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।