
पटना । भारतको विहार राज्यमा विधानसभा चुनाव सकिएको छ । शनिबार भएको तेस्रो चरणको चुनावमा ५५ प्रतिशत मत खसेको अधिकारीहरूले जनाएका छन् । १७ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सकिएको अधिकारीहरूले जनाएका छन् । ७९ सिटका लागि भएको शनिबार भएको चुनावमा १ हजार २ सय ४ जना उम्मेदवार छन् । यसअघि अक्टोबर २८ पहिलो र नोभेम्बर १ मा दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणबाट ७१ तथा दोस्रो चरणको मतदानबाट ९४ सदस्य चयन हुनेछन् । चुनावको मतगणना नोभेम्बर १० देखि सुरु हुने जनाइएको छ । तेस्रो चरणको मतदान सकिएसँगै सार्वजनिक एक्जिट पोलले सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ११६ सिटमा विजयी हुने देखाएका छन् । राष्ट्रिय जनता दल (आरजेडी) का तेजस्वी यादव नेतृत्वको विपक्षी गठबन्धनले १२० सिट आफ्नो पक्षमा पार्ने प्रक्षेपण गरिएको छ । विहारको विधानसभामा २४३ सिट छन् । अधिकारीहरूले कोभिड–१९ को महामारीका बाबजुद विहारको चुनावमा मतदाताहरूले उल्लेखनीय उपस्थिति जनाएका बताएका छन् । शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कोभिड–१९ बाट जोगिन मतदाताहरूलाई आधारभूत मापदण्डहरू अपनाउन निकै कडाइ गरिएको थियो । मतदानका बेला अपनाउनुपर्ने मापदण्डबारे निर्वाचन आयोगले निर्देशिका बनाएर जारी गरेको थियो ।
मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नुपर्ने, सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरूको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायत कुरा उल्लेख गरिएको छ । कोभिड–१९ को महामारीबीच भारतमा पहिलोपटक भइरहेको चुनाव भएकाले पनि यसमार्फत महामारी रोकथामका लागि सरकारले गरेको प्रयास र प्रदेश सरकारका पाँच वर्षका कामप्रति जनमतको बुझाइ पनि प्रस्ट हुनेछ । गत वर्षको लोकसभा चुनावपछि भएका राज्य चुनावहरूमा एकपछि अर्को हार बेहोरेकाले पनि नरेन्द्र मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) का लागि पनि विहारको चुनाव परीक्षाका रूपमा हेरिएको छ । विगतदेखि नै विहारको राजनीतिमा जातीय समीकरण हाबी हुँदै आएकाले त्यसैअनुसारको उम्मेदवार पनि चयन गर्ने गरिएको छ । जातीय समीकरणले प्रमुख भूमिका खेल्ने भएकाले गठबन्धन निर्माणदेखि सिट बाँडफाँट र उम्मेदवार चयन पनि त्यसैअनुसार हुने गरेको छ । गत वर्षको लोकसभा चुनावमा राज्यका सबै ४० सिट जितेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० विधानसभा चुनावमा पनि त्यस्तै नतिजा दोहोर्याउने दाउमा छ । राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय राष्ट्रिय कंग्रेसलगायतको विपक्षी महागठबन्धन पुनः एकपटक सन् २०१५ को परिणाम निल्कने अपेक्षामा छन् ।
पाँच वर्षअघि आरजेडीले ८० सिट जितेर पहिलो पार्टी बनेको थियो दोस्रोमा जेडीयूले ७१ सिट हात पारेको थियो । भाजपा भने ५३ सिटमा सीमित भएको थियो । त्यसैगरी कांग्रेसले २७ सिट जितेको थियो । अघिल्लो चुनावमा महागठबन्धनमा आवद्ध मुख्यमन्त्री नीतिश कुमारको जनता दल युनाइटेड (जेडीयू) यसपटक भने भाजपासँगै एनडीएमा छ । त्यतिबेला एनडीएमा रहेको लोक जनशक्ति पार्टी (एलजेपी) गठबन्धनबाट बाहिरिएको छ । त्यसैगरी यसअघि महागठबन्धनमा रहेका राष्ट्रिय लोकसमता पार्टी (आरएलएसपी) का उपेन्द्र कुशवाहले अन्य साना दलसँग मिलेर तेस्रो मोर्चा बनाएका छन् ।
वामपन्थीहरू पनि सामेल भएपछि विपक्षी महागठन्धन थप बलियो बनेको आकलन राजनीतिक विश्लेषकहरूको छ । गठबन्धनमा भएको फेरबदल र सरकारविरुद्ध बढ्दो असन्तुष्टिका कारण नीतिशका लागि यो चुनाव निकै चुनौतीपूर्ण हुने बताइएको छ । कान्तिपुर दैनिक