२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख बढि



अ+ अ-

काठमाडौँ । देशभर फोरजी सेवा विस्तार सुरु गरेको करिब पौने दुई वर्षपछि नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ । टेलिकमले दुई महिनामा आफ्नो फोरजी ग्राहक संख्यालाई करिब दोब्बर बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार टेलिकमका फोरजी ग्राहक १६ लाख ४ हजार छन् । असारसम्म टेलिकमका यस्ता ग्राहक ८ लाख ४३ हजार मात्रै थिए । हालसम्म नेपालमा फोरजी सेवाका ग्राहक ५५ लाख १६ हजारभन्दा बढी छन् । जसमध्ये सबैभन्दा बढी ग्राहक एनसेलका भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एनसेलका फोरजी ग्राहक ३७ लाख २९ हजार छन् । स्मार्ट टेलिकमका फोरजी ग्राहक संख्या १ लाख ८२ हजार छ । फोरजी सेवाअन्तर्गत एनसेल अग्रस्थानमा रहे पनि थ्रीजी सेवातर्फ भने नेपाल टेलिकमको बजार सबैभन्दा ठूलो छ । प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका थ्रीजी ग्राहक ८४ लाख २२ हजारभन्दा बढी छन् । एनसेलका थ्रीजी ग्राहक भने २७ लाख ७९ हजार रहेको प्राधिकरणको तथ्यांक छ । पछिल्ला वर्षमा एनसेलले फोरजी सेवाको विस्तारमा उल्लेख्य सफलता हात पारेको छ ।

देशभर एक वर्षभित्र फोरजी सेवा विस्तार गर्ने भन्दै टेलिकमले २०७५ माघमा काम सुरु गरेको थियो । तर हालसम्म काम सकिएको छैन । टेलिकमले देशभर फोरजी सेवा विस्तारका लागि करिब १९ अर्ब रुपैयाँ खर्च गर्न लागेको हो । यसका लागि सीसीएसआईले रेडियो एक्सेस नेटवर्क र अर्को चिनियाँ कम्पनी जेडटीईले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७४ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ । इन्टरनेट प्रयोगकर्तामध्ये २५ प्रतिशतले फिक्स लाइनबाट इन्टरनेट सेवा लिने गरेका छन् । एक प्रतिशलते भने वायरलेस इन्टरनेट उपभोग गर्ने गरेको प्राधिकरणको तथ्यांक छ । साउनसम्ममा भने कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७५ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो एक महिना एनसेल र नेपाल टेलिकम दुवैले थ्रीजीतर्फका ग्राहक गुमाएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार साउनसम्म नेपाल टेलिकमको थ्रीजी सेवा उपभोग गर्ने ग्राहक ८६ लाख ६६ हजार थिए । भदौमा यो घटेर ८४ लाख २२ हजारमा सीमित भएको छ । यस्तै साउनसम्म एनसेलका थ्रीजी ग्राहक २८ लाख ८४ हजार रहेकामा भदौमा घटेर २७ लाख ७९ हजारमा सीमित भएका छन् । थ्रीजीतर्फका ग्राहक गुमाएको तुलनामा फोरजीतर्फका ग्राहक बढेको भने देखिन्न ।

टेलिकम सेवा प्रदायकहरूले थ्रीजीतर्फका ग्राहक गुमाएर फोरजी सेवाको विस्तार गरिरहँदा फिक्स इन्टरनेटको बजार हिस्सा भने एक महिनामा १ प्रतिशत बढेको छ । साउनसम्म कुल इन्टरनेट प्रयोगकर्तामध्ये २४ प्रतिशतले फिक्स्ड लाइनबाट इन्टरनेट प्रयोग गर्ने गरेकामा भदौमा यसको बजार हिस्सा २५ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ । देशभर २ करोड २८ लाख जनसंख्यामा इन्टरनेट पहुँच पुगेको प्राधिकरणको तथ्यांक छ । यो कुल जनसंख्याको ७६ प्रतिशत हो । कान्तिपुर दैनिक