२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बर्दिवास बालिका हत्या प्रकरणः चार बुँदे सहमति



अ+ अ-

जनकपुरधाम । महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबरले बुधबार फेरि आन्दोलन चर्किएको हो । बर्दिबास चोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी न्यौपाने गम्भीर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएको खबर पाएलगत्तै बुधबार बिहानैदेखि स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् । प्रहरी जवान अर्जुनप्रसाद बानियाँको बियरको बोतलले लागी चिउँडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरूको उपचार बर्दिवासस्थित अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगा र खाली बियरका बोतलले प्रहार थिए । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारबाहीको माग गर्दै बर्दिबासमा आन्दोलन चर्किएको हो । निषेधाज्ञापछि पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको हो । सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको निधन भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ ।

त्यसैगरी बालिका हत्यामा संलग्न व्यक्तिलाई कानुनबमोजिम हदैसम्मको कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घटनामा गोली लागेर ज्यान गुमाएका सञ्जयको परिवारलाई क्षतिपूर्ति र उनलाई शहीद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने सहमति गरेको हो । बुधबार बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र बालिकाको हत्यारालाई कडा कारबाही हुनुपर्ने माग अघि सारेको थियो । समितिले नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोलीसमेत गठन गरेको थियो ।

आइतबार साँझदेखि हराएकी महोत्तरीको बर्दिबास–१४ स्थित शुभम् बस्तीकी ६ वर्षीया खातुनको शव सोमबार मध्यराति भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, उत्तर पाटुचोक र दक्षिणमा क्वाटचोकसम्म निषेधाज्ञा जारी गरिएको छ । राजधानी दैनिक