-चन्द्रमणि भट्टराई
काठमाडौं । आज र भोलि गरेर काठमाडौं महानगरका करीब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको पहिलो चरण अन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउने छन् ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई क्याप्सुल दिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । जनस्वास्थ्य विभागका अनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई क्याप्सुल दिइएको थियो । त्यस्तै गएको वर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो ।
महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन 'ए' सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई भिटामिन 'ए' पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।