२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनद्वारा सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ उनले भने । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए । भेटका क्रममा झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थ आदान प्रदानका कार्यहरू फेरि सुरु गर्ने विषयमा छलफल गरेका छन् । सैनिक मुख्यालयमा भएको भेटवार्तामा कोरोना भाइरस (कोभिड—१९)का कारण रोकिएको सहयोग, सहकार्य र अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सहमति भएको छ । दुई देशको सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासको विषयमा भने मिति खुलाइएको छैन ।

त्यस्तै चिनियाँ रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा विगतमा भएको दुई देशबीचको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो । सन् २०१६ मा आफू चीन भ्रमणको क्रममा भएको व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताको विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै गत वर्ष नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको विषय कार्यान्वयनमा जोड दिइएको छ ।

त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत वर्षको अक्टुबरमा भएको सम्झौतामा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीका लागि संयन्त्र निर्माण गरिने उल्लेख छ । त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने र औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ । यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको थियो । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको थियो ।

नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुक्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौं सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको थियो । सो समझदारी कार्यान्वयन गर्ने दिशामा चीन प्रतिबद्ध रहेको चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहका नेताको भ्रमण चिनियाँ राष्ट्रपति सी को भ्रमणपछि दोस्रो हो । भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेको बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आकस्मिक रूपमा तय भएको हो । भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।

पछिल्लो समय भारत–अमेरिकाको गठबन्धनसँगै चीनले नेपाललगायत अन्य मुलुकमा आफ्नो उपस्थिती बलियो बनाउने रणनीतिका साथ अगाडि बढेको हो । चीनले भारतसँग सीमा जोडिएको र प्रभाव रहेको मुलुकमा नयाँ रणनीति बनाएर भ्रमण गरेको हो । खासगरी पछिल्लो समय भारत र चीनबीच रहेको लद्दाकको सीमा विवादका कारण दुई देशबीच चिसोपना आइरहेको छ । लद्दाकको सीमा विवादकै कारण गत १५ जुनमा चिनियाँ सैनिकको आक्रमणबाट भारतीय २० सैनिक मारिएका थिए । त्यसपछि दुई देशबीच आएको चिसोपना मत्थर भइसकेको छैन । यस्तो अवस्थामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । राजधानी दैनिक