
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विगतमा निर्यातमूलक उद्योगका रूपमा स्थापित भएर अहिले गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग गरेको छ । महासङ्घका नवनिर्वाचित पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका उच्च अधिकारीसँगको भेटमा गार्मेन्ट, पस्मिना, गलैँचाजस्ता उद्योगको पुनरुत्थान गर्नेमा ध्यान दिन आग्रह गरेको हो ।
छलफलमा मन्त्री भट्टले महासङ्घका पदाधिकारीले दिएका सुझाव सकारात्मक रहेको भन्दै मन्त्रालयले निकट भविष्यमा महासङ्घलगायतका अन्य व्यवसायिक सङ्घसंस्था, सरोकारवाला सरकारी निकायसमेतको सहभागितामा एक विशेष कार्यक्रम गर्ने र त्यसबाट उद्योग–व्यवसायको विकासमा ठोस निष्कर्ष निकाल्ने योजना मन्त्रालयको रहेको बताउनुभयो ।
भेटमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले त्यस्ता उद्योगलगायत कोभिड प्रभावित उद्योग र अर्थतन्त्रको पुनरुत्थान अपरिहार्यता रहेको बताउनुयो । निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनरुत्थानमा निजी क्षेत्र सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ थियो ।
उहाँले यसका लागि नीतिगत तथा अन्य व्यवस्था गर्न अन्तर्राष्ट्रिय विज्ञसमेत संलग्न गराई महासङ्घले अध्ययन गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष गोल्छाले दोहोरो करका कारण स्थानीय तहमा उद्योग–व्यवसाय थप समस्या परेको पनि ध्यानाकर्षण गराउनुभयो । कोभिड महामारीसँगै बन्द चलचित्र हलहरू स्वास्थ्यका सबै प्रोटोकल कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्नेमा पनि आग्रह गर्नुभयो । गोल्छाले अहिलेको सङ्कटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल वातावरण बनाइदिनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।
कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्नु नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्बर ल ल्याउनुपर्ने माग महासङ्घको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वबाट उठेको रकमको केही हिस्सा उद्योग वााणिज्य सङ्घको संस्थागत विकासमा खर्च गर्न दिनुपर्ने माग पनि महासङ्घले राखेको थियो । सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधैं महासङ्घसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
परिसङ्घद्वारा स्वागत
यसैबीच नेपाल उद्योग परिसङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । बिहीबार परिसङ्घको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले महासङ्घको नयाँ कार्यसमितिसँग परिसङ्घको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग–व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । गोरखापत्र दैनिक