२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

२ करोड १७ लाख नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप दिईने



अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा। श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् । कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइनेछ । ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नुपर्नेछ । त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना कार्यान्वयनमा ल्याएको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि विषयगत समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यस्तै, भ्याक्सिन उत्पादन परीक्षण भइरहेका देशसँग कूटनीतिक प्रयास थालिएको सहप्रवक्ता डा. अधिकारीले बताए । नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना नरहेको बताइएको छ । सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ । 

सार्कअन्तर्गत संक्रमणमुक्त दरमा नेपाल अग्रस्थानमा 

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ । वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । माल्दिभ्समा कुल संक्रमित १३ हजार १ सय ४३ जनामध्ये १२ हजार १ सय ९९ जना संक्रमणमुक्त भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरमा उल्लेख छ ।

भुटानमा कुल संक्रमित ४ सय २४ जनामध्ये ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कुल संक्रमित ४ लाख १३ हजार १ सय ९१ जनामध्ये ३ लाख ५२ हजार ५ सय २९ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा ४ लाख ७५ हजार ७ सय ८९ जना संक्रमितमध्ये ३ लाख ९३ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

वल्र्डमिटरका अनुसार अफगानिस्तानमा ४७ हजार ६ सय ४१ संक्रमितमध्ये ३७ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । श्रीलंकामा २६ हजार ५ सय ५९ जना संक्रमितमध्ये १९ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

सार्क देशमा कोरोना संक्रमणमुक्त हुने दर
देश संक्रमणमुक्त दर (प्रतिशतमा)
भारत ९४.२८
नेपाल ९३.४०
माल्दिभ्स ९२.८१
भुटान ९१.२७
पाकिस्तान ८५.३१
बंगलादेश ८२.६८
अफगानिस्तान ७८.६८
श्रीलंका ७३.१८
 राजधानी दैनिक