अमेरिका; अमेरिकाको डेलावर राज्यमा स्थापना भएको डेलावर नेपाली सोसाईटीको पहिलो वार्षिक साधारण सभा तथा पिकनिक आईतवार सम्पन्न भएको छ ।
स्थानीय रुपमा वसोवास गर्दे आएका नेपालीहरुको साझा संस्थाको रुपमा क्रियाशील सोसाईटीको आयोजनामा भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरुले संस्थागत हीत र आगामी कार्यक्रमको वारेमा समेत चर्चा गरेका थिए ।
कार्यक्रममा सोसाईटीले समुदायको हीतमा थप कार्यक्रम आयोजना गर्ने प्रतिवद्धताहरु समेत सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले डेलावर राज्यमा वसोवास गर्ने प्रवुद्ध समूह तथा व्यवासायिक व्यक्तिहरुले नेपाली समुदायको वृहत्तर हीतको लागि अमेरिकाको मूलधारमा सहभागितामूलक कार्यक्रमको लागि काम गर्न अनुरोध गर्नु भयो ।
भण्डारीले भन्नुभयो प्रवासी भूमिमा बस्दै गर्दा तपाईहरुले प्राप्त गर्नु भएको अनुभव,दक्षता, सीप र बौद्धिकताको उपयोग गर्दे समुदायको सशक्तिकरणमा एउटा मार्ग निर्देशनको खाका तयार पार्न अव ढिलाई गर्नुहुन्न् । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गैर आवासीय संघ एनआरएन अमेरिकाका अध्यक्ष डा अर्जुन वन्जाडेले समुदायको सहयोगको लागि सबैले हातेमालो गर्नु पर्ने वताउनु भयो । वन्जाडेले भन्नुभयो तपाई हामी सबैले यहाँको वातावरण अनुसार समुदायलाई सहभागितामा हातेमालो गर्नुपर्ने छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. देव जैसीले डेलावर राज्यमा वस्दै आएका तथा विभिन्न पेशा तथा व्यवसायमा संलग्नहरुको वीचमा आपसी सहयोग, सदभाव र भाईचारा स्थापित गर्न हामीहरुले संस्थालाई व्यवस्थित तरिकाले अगाडि वढेको वताउनु भयो । जैसीले हालै मात्र समुदायको एक सदस्य चन्द्र थापाको असामयिक निधनको समयमा समेत समुदायका सदस्यहरुले सक्रियता पूर्वक सहयोग गरेको स्मरण गर्नुहुँदै विभिन्न कानूनी तथा प्रशासनिक प्रक्रिया र परिवारसँग समन्वय जस्ता विषयमा आवश्यक समन्वयको लागि महत्वपूर्ण भूमिका खेल्नु भएकोमा मेरिल्याण्डका डेलिगेट डा हयारी भण्डारी र उहाँको कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स्मरणीय छ, डेलावर नेपाली सोसाईटीले थापाको निधनमा गो फण्डमी मार्फत रकम संकलन गरेको थियो भने उहाँको शवको अन्तिम संस्कारको लागि कामगर्दे आएको छ । उक्त गो फण्डमा रकम योगदान गर्नुहुनेहरु प्रति अध्यक्ष जैसीले कृतज्ञता व्यक्त गर्नु भएको छ । समितिको उपाध्यक्षमा शैलेन्द्र देवकोटा,सचिव विजय गैह्रे ,सहसचिव रिजन पोख्रेल,कोषाध्यक्ष रवि खनाल रहनु भएको छ ।
यसै गरि संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नको लागि समिति संयोजक तथा कमिटि चेयरहरु तोकेर कार्यक्रम गर्दे आएको छ । साथैं डेलावर भ्याली नेपाली पाठशालालाई चार्टर समितिको रुपमा समावेश गरिएको छ । कमिटिहरुमा व्यावसायिक विकास तथा संस्कृति समितिमा अनिरा कँडेल चेयर,मनोरञ्जनत तथा स्पोर्टस गतिविधीको चेयरमा गोकर्ण चालिसे, संयोजकमा सन्तोष गौतम, ईभेन्ट,कम्युनकेशन तथा पव्लिक रिलेसन्सको चेयरमा प्रमिला सुवेदी, संयोजकमा सन्तोष कँडेल लगायतको टिम रहेको छ ।
संस्थाले नेपाली नयाँ वर्ष, दशै तिहार जस्ता ठूला चाडपर्वहरुको विभिन्न साँंस्कृतिक कार्यक्रम सहित कार्यक्रमहरु समेत सञ्चालन गर्दे आएको छ । आगामी दिनमा अझै व्यापक रुपमा कार्यक्रमहरु सञ्चालन गरिने सोसाईटीको भावी कार्यक्रमहरुमा उल्लेख गरिएको छ ।