
काठमाडौँ । कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले निर्देशन दिए पनि अझै करिब २२ हजार दाबीको भुक्तानी भएको छैन । गत बुधबारसम्म ८ हजार ५ सय ६३ वटाको मात्र दाबी भुक्तानी भएको छ । त्यसबापत कम्पनीमार्फत ८३ करोड ६५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । बिमा समितिका अनुसार गत आइतबारसम्म ३० हजार ५ सय वटा कोरोना बिमा दाबी परेको छ । यही तथ्यांकलाई आधार मान्दा पनि बुधबारसम्म करिब २२ हजार दाबी भुक्तानी हुन बाँकी देखिएको हो । आइतबारयता पनि धेरै दाबी परिसकेकाले दाबी कुल दाबी संख्या बढेको हुन सक्ने बताइएको छ ।
पहिलो पटक सात दिनभित्र दाबी भुक्तानी दिन अर्थमन्त्री विष्णु पौडेलले नै निर्देशन दिए पनि कम्पनीहरूले अटेर गरेको भन्दै गत बिहीबार तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिइएको थियो । तर पनि धेरैले लामो समयसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । गुनासोबारे नियामक निकाय बिमा समिति पनि जानकार छ । यस्तो अवस्थामा छिटो भुक्तानीका लागि उसले निर्देशन दिनुपर्नेमा कम्पनीकै पक्षमा विज्ञप्ति जारी गरेर बिमितलाई आश्वस्त पार्न खोजेको छ । स्थलगत निरीक्षण गर्दा बिमितले तोकिएका सबै काजगात पेस नगरेकाले धेरै दाबी भुक्तानी बाँकी रहेको बताइएको छ ।
आवश्यक कागजात नपुगेको, बिमा कम्पनीका कर्मचारी कोरोना संक्रमित भएको, प्रमाणीकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाउनुपर्नेलगायत कारण ढिलाइ भएको समितिको निष्कर्ष छ । तर बिमक संघ (बिमा पुल) ले भने कागजात पूरा भएको दाबीमध्ये ५० प्रतिशत भुक्तानी भइसकेको बताएको छ । संघका अनुसार बुधबारसम्म कुल दाबीमध्ये १८ हजार ६ सय ८५ वटा दाबीको मात्र सबै कागजात पूरा आएको छ । त्यसको करिब ५० प्रतिशत दाबी भुक्तानी भएको र बाँकी प्रक्रियामा रहेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए । भुक्तानी गर्न बाँकी दाबीमध्ये १ हजार ९ सय २३ स्वीकृतिको प्रक्रियामा रहेको, २ हजार १ सय ८५ वटा ईडीसीडीबाट आउन बाँकी रहेको र ७ सय ३९ वटा ईडीसीडीमा पठाउन तयार रहेको पाण्डेले बताए । बाँकी १ हजार १ सय ३६ वटा दाबी कम्पनीमा फिर्ता पठाइएको, ४ हजार ९४ वटा प्रमाणीकरण प्रक्रियामा रहेको उनले जानकारी दिए । जसमा २५ वटा दाबी नक्कली भेटिएको उनले बताए ।
धेरै दाबीमा कागजात नपुगेकाले बिमितलाई सम्बन्धित कम्पनीमा सम्पर्क गरेर आवश्यक कागजात पुर्याइदिन उनले आग्रह गरे । ‘कागजात पूरा भएका दाबीको पनि भुक्तानी ढिलाइ भए बिमा पुलमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ,’ उनले भने, ‘प्राप्त एसएमएसलाई २४ घण्टाभित्र सम्बोधन गरिनेछ ।’ शंकास्पद र निजी प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट प्रमाणीकरणका लागि ईडीसीडी पठाउनुपर्ने भएकाले समय लागेको बिमा कम्पनीहरूले बताउने गरेका छन् । कोरोना बिमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ ।
संशोधित मापदण्डमा बिमा पुलबाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ । नयाँ बिमालेखमा सामूहिक रूपमा प्रतिव्यक्ति १ लाख रुपैयाँको मात्र बिमा गर्न पाइन्छ । जसमा कोरोना संक्रमित भएको प्रमाणित भएपछि घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार र अस्पतालमा उपचार गराएको भए उपचार खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म भुक्तानी पाइन्छ । भदौ २८ अघि बिमा गरेका बिमितले भने कोरोना प्रमाणित भएपछि एकमुष्ट ५० हजार र १ लाख रुपैयाँ भुक्तानी पाउँछन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो । कान्तिपुर दैनिक