१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशका अधिकांश स्थानमा भारी वर्षा, भोलिसम्मै सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । गएरातिदेखि सुरु भएको निरन्तरको वर्षा अहिले पनि जारी छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सप्तरीको रुपनी बजारमा १ सय ५९ दशमलव ४ मिलिमिटर मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुलाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाण्डौको कपनमा ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुना लगायतका जल मापन केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ ।

मकवानपुरको बकैया नदी जुरेलीबजार बाढीमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले बकैया नदीको बारासम्मकै तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेले सर्तकता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान बजार, सप्तरीको रुपनी बजार क्षेत्र भई वहने बिरिङ, चिस्याङ, लोहन्द्रा, केशलिया नदी र अन्य स–साना खोलामा पनि आकास्मिक बहावको जोखिम रहेको छ ।

यसैबीच, आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।

आज र भोलि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।

यस्तै राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।