१८ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्मृतिमा मदन भण्डारीसँग बितेका पल



अ+ अ-

२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो,“नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।” त्यसपछि क्रमशः लेखहरु मदन र झलनाथका आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत संघलाई नयाँ शिराबाट हेर्ने पार्टी लाइनबारे विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो । त्यतिखेर रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो ।

त्यसैगरी चीनको थ्यानआनमेन चोकलाई स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत त्यताको तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको वकालत गर्दै लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका “दृष्टि” पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टिम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट सँलग्न हुनुहुँदोरहेछ,मदन भण्डारी । नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक,प्रकाशकको नाम राख्नैपथ्र्यो। त्यसैले नेकपा मालेको संक्षिप्त रुपी “नेत्र कमल पाठक,मानेडाँडा लेकथुम” जुराएर नक्कली काम गरियो ।

फागुन ७ गतेदेखि त जनआन्दोलन शुरु भैहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना,कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौं । मोटोमोटो ज्यान,हँसिलो,मीठो बोल्ने,त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर अनुमान त लगायौँ तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताको रुपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! को नै थिए र संकटको घडीमा काँध थाप्न तयार हुने बफादार,अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !

एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने–खाने,मन माझ्ने, पदीय घमण्ड नगर्ने,ठूलो नपल्टिने,राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु ७०० रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको बिषय थियो । विद्यार्थी राजनीति गर्ने,त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका कलिला केटाहरुलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो पो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँजस्तो लाग्ने,संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा उर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ,यतिञ्जेल हामीसङ्ग रम्ने उहाँ नै पार्टीको महासचिव हुनुहुँदो रहेछ । अब विदेशीहरुसँग भेटघाट बाक्लिन थाले ।

त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई भोकै काममा लगाउने तर पार्टीका नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने, डेराभाडा तिरिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो, जे गर्दैछौँ,पार्टीको लागि गर्दैछौं अनि यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । मनले नै मानेपछि यस्ता गुनासा झिनामसिना लाग्ने नै भए । शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इञ्जिन दह्रो भैदिँदा रेलका डब्बाहरु उर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहेजस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

एकदिनको सम्झना छ,मदनले भिजिटिङ कार्ड बनाउनुपर्‍यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुँदो हो भन्ने लागेको थियो होला उहाँलाई ।  तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिन,न त आफ्नो सीमा र बाध्यता नै बताउन सकेँ । तर, पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उहाँले आशालाग्दो,भर्खर उदाएको पत्रकार हो,यसलाई उठाउनुपर्छ भन्ठानेर नै  मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका तत्कालीन मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ता ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराउनुभयो ।

म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी,केशवलाल श्रेष्ठ सँगै हुनुहुन्थ्यो । पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको,सँगै सादगी भोजन गरेको,हाइफाइवाला होटेल, वातानुकुलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सरल जीवनको सम्झना छ मसङ्ग । त्यताबाट फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र महाकाली सन्धिको उत्कर्षवीच कञ्चनपुर गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ्ग हुँदै फर्केको याद पनि ताजा छ ।

त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो । अशोक राई,सिपी मैनालीहरुको अलग धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरुको वीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उहाँलाई सँगै गाडीमा लिएर आउने कि लिफ्ट नदिने भन्ने कुरामा अलिअलि विवाद हुँदा मदनले त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको क्षण झल्झली सम्झिरहन्छु । पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नै एक भोट पनि नहालिकन राती नै निस्केर घर जानुभयो । सिपी मैनाली, मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको टाउको” भनिराख्नुहुन्थ्यो ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादको ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ,त्यसको अगाडि “जनताको” शब्द थप्न लगाउनुभयो । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ । पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि “प्रकाश साप्ताहिक” महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसो गर्दा सन्तुलन रहन्छ,पेशागत मर्यादा देखिन्छ,एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्ने निर्देशन दिनुभयो,जुन सहिष्णुताको पक्ष मैले कहिल्यै नबिर्सने अर्को प्रसङ्ग हो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै,दृष्टि पढ्दै गरेको,खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको,जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला ।

संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, पछि राष्ट्रपति र महासचिव उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपी ओली,मुकुन्द न्यौपाने,बाचस्पति देवकोटा,हेमराज राई,मुकुन्द न्यौपाने,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट तपाईलाई पनि राखेको छु भन्नुभएको थियो । तर पछि खै कुन्नि, म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ,लेख्थ्यौँ र देशवासीलाई सुसूचित गथ्र्यौँ ।

अहिलेजस्तो इमेल,फेसबुकको जमाना कहाँ थियो र जहाँ कहीँबाट फ्याट्ट सेण्ड या पोस्ट गर्नलाई ! उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो । जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । बीएको परीक्षा चलिरहेकोले म जान नपाउने भएँ । यस्तो अवस्थामा न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने,अनि मैले त्यसआधारमा समाचार बनाउने सहमति भएको थियो ।

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुख जीवराज आश्रितका यात्रा विवरणसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा,प्रधान सेनापति गडुल समशेरका मुखबाट सुन्नुपर्‍यो  । त्यसपछिका प्रसंगहरु त सबैसामु छर्लङ्गै छन् ।

उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ,न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ,खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै काम इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ,त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ । कारक र कारण जेसुकै होस्,यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ,दुःख छ । घरिघरि लाग्छ,त्यति सानो काम पनि किन गर्न सकिनँ होला !