२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र



अ+ अ-

ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।

उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उहाँको भनाइ छ ।

सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उहाँको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म करिब रु १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।

योसँगै पालिकाले सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।

“सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज/अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भन्नुभयो, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”

स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई/चार वर्षपछि गाउँबाटै बिक्री हुने उहाँको भनाइ छ ।

अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाउनुभयो । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । रासस