
काठमाडौं । सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आईसीएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ । कोभिड अस्पताल तोकिएकाले अन्य बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सबै अस्पतालले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैं नियमित प्रदान गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालले कोभिड र ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पताललाई परिपत्र गरेको छ । यस्तै, देशभर हाल २ सय २७ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत १ सय ९७ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा पाँच जना आईसीयूमा रहेका छन् ।
बागमती प्रदेशमा ७१ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र सात जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णाली प्रदेशमा १४ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयूमा उपचाररत रहेका छन् । यस्तै, देशभर १ हजार ६ सय ८ जना कोरोना संक्रमित होमआइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।
यस्तै, ३ हजार ५ सय २५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेश एकमा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । राजधानी दैनिक