काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि रिजेक्ट भएको छ ।
अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपको भिसा दोस्रो पटक पनि रिजेक्ट भएको हो ।
टी-२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपको आवेदन यसअघि पनि अस्वीकार भएको थियो ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट पनि लेखेको थियो ।
तर, अमेरिकी दूतावासले पुन: भिसा दिन अस्वीकार गरेपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ ।
सन्दीपले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।