म्याग्दी । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन् । आइपिएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ ।”
शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काक्रो, आलु र गोलभेँडाको सामुहिक खेती गरिएको छ । बेनी–१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आइपिएम पाठशालामा २९ जना कृषक सहभागी भएका उहाँले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी–२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका–२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन् । बेनी–३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ ।
ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आइपिएम सहजकर्ता शर्माको भनाइ छ । बेनी–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ ।
बेनी–१ अर्जमको देउराली आइपिएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।
“तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौँ”, उहाँले भन्नुभयो, “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।”
“खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ”, कृषक सुन्दर थापामगरले भन्नुभयो ।
पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छाँै”, उहाँले भन्नुभयो, “परम्परागत तुलनामा आइपिएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ ।”
गत आर्थिक वर्षमा बेनी–१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको थियो । बेनी–१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताउनुभयो । एउटा पाठशाला सञ्चालन गर्न रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।