२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन



file photo
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता–कार्यकर्ता एवं स्वयंसेवकलाई निर्देशन दिएको छ । देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ । माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ ।

प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ ।

गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन् । डढेलोका कारण जनधनको क्षतिका साथै हजारौँ नागरिक पीडित हुन पुगेका छन् । देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराई/मधेसका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ । रासस