१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल



अ+ अ-

गलकोट (बागलुङ): नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताउनुभएको छ ।

उहाँले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्नु आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटबलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिनुभयो ।  आज बागलुङको चैते दसैँ मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो । त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको छ ।”

उहाँले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताउनुभयो । उहाँले बागलुङको ऐतिहासिक चैते दसैँ मेला स्थानीय उत्पादनको खरिद–बिक्री केन्द्रका रुपमा स्थापित भएको बताउँदै यस्ता मेला महोत्सवबाट मौलिकता र स्थानीयताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैँ मेला बागलुङमा तीन सय वर्ष पुरानो रहेको बताइन्छ । यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो ।

त्यस अवसरमा अध्यक्ष ढकालले आदर्श सञ्चारमा कार्यरत सृजना पन्त र धौलागिरि एफएममा कार्यरत ताराप्रसाद शर्मालाई कालिका पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री चम्पा खड्का, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतले यस मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो । यस अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको समितिका अध्यक्ष खड्काले बताउनुभयो । गएको शुक्रबारदेखि सुरु भएको मेलामा आज मुख्य दिनसम्म दुई लाख ५० हजारभन्दा बढी दर्शनार्थी आइसकेका अध्यक्ष खड्काले बताउनुभयो ।

मेलामा हालसम्म दुई करोडभन्दा बढीको काराबार भइसकेको उहाँको भनाइ छ । मेला जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, स्थानीय उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइँदै आइएको छ । रासस