
एजेन्सी । आईपीएलमा शुक्रबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादसँग खेल्दैछ । दुवै टोली हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुनेछन् ।
चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनी सनराइजर्स हैदराबादसँगको खेल खेल्नेमा शंका उत्पन्न भएको छ ।
महेन्द्र सिंह धोनी दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मैदानबाहिर जाँदा चोटिल देखिएका थिए । उनी एक खुट्या खोच्चाउँदै हिँडेका थिए ।
दिल्ली क्यापिटल्सविरुद्धको खेलमा महेन्द्र सिंह धोनीले उत्कृष्ट इनिङ्स खेलेका थिए । उनले १६ बलमा अविजित ३७ रन बनाए । उनले आफ्नो इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
यदि धोनी सनराइजर्स हैदराबादविरुद्धको प्लेइङ इलेभेनबाट बाहिर भए भने यो डिफेन्डिङ च्याम्पियनका लागि ठूलो झट्का हुनेछ ।