१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू



अ+ अ-

गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँले बताउनुभयो। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।”

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँ बताउनुहुन्छ । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उहाँहरूलाई सक्रिय बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।” रासस