
काठमाडौं । अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी लागनी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ अनुसार उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइनेछ । यसअघि विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैङ्कसँग पूर्वस्वीकृति लिनु अनिवार्य थियो । कतिपयले त्यस्तो व्यवस्थाले गर्दा लगानीकर्तालाई झन्झट हुने गरेको गुनासो गर्दै आइरहेका थिए ।
पूर्वाधार विकासका लागि नेपालमा लगानीको आवश्यकता हुँदै आए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । विदेशी लगानी आकर्षित हुन नसक्नुमा अप्ठेरो सरकारी नीतिकलाई संशोधन गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।
नयाँ व्यवस्था अनुसार लगानी स्वीकृत भएपछि विदेशी मुद्रा विदेश पठाउनुअघि राष्ट्र बैङ्कलाई जानकारी गराउनुपर्ने व्यवस्था कायम राखिएको छ । नागरिक दैनिकमा समाचार छ ।