७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ



अ+ अ-

भरतपुर । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् ।

जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” उहाँले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताउनुभयो ।

“बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, कलारामले भन्नुभयो, “चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।” चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उहाँको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उहाँले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताउनुभयो । “यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो । “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताउनुभयो ।

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गर्नुभयो ।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताउनुभयो । “अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन”, उहाँले भन्नुभयो, “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ । रासस