१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मौरी चराउन चितवनका चिउरी पाखामा किसान



अ+ अ-

भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ ।

रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुग्नुभएको छ । “तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ”, उहाँले भन्नुभयो, “फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।” उहाँले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताउनुभयो ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताउनुभयो । “विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।” उहाँले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताउनुभयो ।

चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उहाँको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताउनुभयो । “मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ”, उहाँले भन्नुभयो, “जिन्दगीको सबैभन्दा आनन्द यही हो ।”

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले राससलाई बताउनुभयो ।

उहाँका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । रासस