
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्रीले धनगढी विमानस्थलमा विपिनका आमा-बुवासँग भेटेर कुराकानी गर्नुभएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढाईको सिलसिलामा इजरायल गएका थिए । इजरायल-हमास आक्रमण हुँदा हमासले विपीनलाई नियन्त्रणमा लिएको थियो ।
विपिनका आमा-बुवाले प्रधानमन्त्री दाहाललाई छोरालाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताउनुभएको छ ।