१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान



फाईल फोटो
अ+ अ-

बेदकोट (कञ्चनपुर) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।

व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राख्नुभएको हो । उहाँले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्नुभएको छैन । खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उहाँले बताउनुभयो ।

“नजिकमा खाद्यको खरिद केन्द्र छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।” उहाँका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले रु दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन् । डेढ बिघा जमिनमा धानखेती गर्नुभएको उहाँको यसपटक उत्पादन वृद्धि भएको छ ।

“धान खरिदका लागि घरमै आउँछन् । गाडी भाडा तिरेर हामीले ढुवानी गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “खाद्यसम्म पुर्याउँदा ढुवानी खर्च लागेर केही फाइदा हुँदैन ।” उहाँका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ । महेन्द्रनगरबाट टाढा रहेका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ ।

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताउनुभयो । “हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ । ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन् ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ । धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ”, उहाँले भन्नुभयो, “यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।” प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उहाँले बताउनुभयो । यो मूल्य गत वर्षभन्दा बढी हो । गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो ।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । “ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ । हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ”, उहाँले भन्नुभयो, “स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ ।” रासस