६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पूर्वराजा ज्ञानेन्द्रले जसरी नेताहरुले सजिलैसंग सत्ता र सम्पत्ति त्याग्न सक्लान त ?



अ+ अ-

काठमाण्डौ । श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहले १८२५ सालमा स—साना बाइसे चौबिसे राज्यलाई एकिकरण गरि ‘नेपाल’ बनाएर त्यसबेलादेखि शाहवंशले परम्परागत रुपमा नेपालको राजपाठ सम्हाल्दै आएको कुरा साधारण स्कुले ज्ञान हासिल गरेका सबैलाई थाहा छ ।

आफ्ना पुर्खाहरुले अविच्छिन्न रुपमा सम्हाल्दै आएको मुलुकको वागडोर २०६२/०६३ को केही दिनको आन्दोलनको कारण आफ्ना सोझासाझा जनता नमरुन् भनेर २०६५ जेठ २९ गते हाँसीहाँसी २४० वर्ष लामो इतिहास बोकेको राजसंस्था र राजदरवार छोडेर साधारण नागरिक सरह जीउन खोज्ने नेपालका अन्तिम राजा श्री ५ ज्ञानेन्द्रको त्यागलाई न त नेपाली नेताहरु, न संसारकै कुनैपनि मुलुकका राष्ट्रप्रमुखहरुले अनुकरण गर्ने साहस देखाउन सक्छन् । न आफ्नो अधिकार र सम्पत्ति त्यति सजिलैसंग त्याग्न सक्छन् ।

राजा ज्ञानेन्द्रको त्यतिखेरको शान्तिपुर्ण त्यागलाई संसारकै ठुलो नोवेल शान्ति पुरस्कारबाट सम्मानित गरेतापनि सानो हुन्छ । उहाँको त्याग भगवान बुद्धले आफ्नो राजपाठ छोडेर जंगल गएभन्दा ठुलो हो भन्दा दुई मत हुँदैन् । उहाँको त्यागमा अभिभावकले आफ्ना छोराछोरीलाई गर्ने त्याग भन्दा ठुलो थियो भनेर बुझ्नु जरुरी छ ।

२४० वर्षदेखिको शाहवंशिय परम्परा, अधिकार र सबै सम्पत्ति तिलाञ्जली दिएर आफ्ना जनताको लागि भनेर हाँसीहाँसी आफ्ना जिजुबाजे, बाजे र बुबा १३५ वर्षदेखि बस्दै आएको नारायणहिटी राजदरवार छोडेर (घर छोडेर डेरा सरहको) नागार्जुनमा सर्नु चानचुने त्याग होइन पनि ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको भनाईलाई सापट लिएर भन्ने हो भने ‘देशमा राजतन्त्र हटाएर गणतन्त्र आउन सबैभन्दा ठुलो योगदान न त राजनैतिक दलको छ न ति दलका नेताहरुको । सबैभन्दा ठुलो योगदान त राजा ज्ञानेन्द्रको छ’ भनेर । जुनकुरा शतप्रतिशत सत्य हो पनि ।

त्यतिखेर राजा ज्ञानेन्द्रले चाहेको भए विदेशी शक्तिको आडमा उचालिएका केही थान दलका नेता भनाउँदाहरुलाई निमिट्यान्न गरेर सत्ताको बागडोरलाई अझै कैयौं वर्षसम्म अविच्छिन्न रुपमा चलाउन सक्नुहुन्थ्यो ।

तर उहाँले त्यो चाहनुभएन र ‘जनताको चाहना र इच्छालाई सर्वाेपरि मान्ने शाहवंशिय परम्परालाई आत्मसात् गर्दै सरकारको गणतन्त्रलाई कार्यान्वयन गर्न सहयोग गरेको हुँ’ भन्दै हाँसीहाँसी नारायणहिटी राजदरवार छोड्नुभएको तथ्य कसैबाट लुक्न सकेको छैन ।

राजा ज्ञानेन्द्रको त्यागको तुलनामा अहिलेका राजनैतिक दलका नेताहरुमध्येका नेपाली काँग्रेसका शेरबहादुर देउवाले आफ्नो बुढानिलकण्ठको सम्पत्ति, केपी ओलीले बालकोट र झापाको सम्पत्ति, प्रचण्डले आफ्नो अथाह सम्पत्तिको केही अंश मात्रै भएपनि त्यागेर देखाउन सक्छन त ? अनि माधव नेपाल र झलनाथ खनाल, महेश बस्नेतले गुण्डुको सम्पत्ति । त्यो त्यति सजिलो छैन ।

देशभन्दा आफ्नो स्वार्थ ठुलो मान्ने राजनैतिक दलका नेताहरुलाई आन्तरिक कलहमा नेपाललाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्न पल्केका स्वार्थी शक्ति राष्ट्रहरुले धर्म निरपेक्ष र गणतन्त्रको नाउँमा लोभ्याउँदा मुलुकको राष्ट्रियता र स्वाधिनता जोखिममा परेको कुरा सर्वसाधारण नेपाली जनताले बुझिसकेका छन् । तर आफ्नो कारणले देशको अस्तित्व नै संकटमा परेको कुरा गोवर भरिएको दिमाग भएका स्वार्थी नेताहरुले कहिल्यै पनि बुझेनन, न त बुझ्न नै चाहे ।

आफ्ना पुर्खाले एकिरकण गरेर जोडेको देशको चिन्ता त ति नेताहरुलाई भन्दा राजालाई बढी हुनु स्वभाविक हो नै । जनतालाई मारेर सत्तामा बस्न नरुचाउने शाहवंशिय राजपरम्परालाई देशमा गणतन्त्र आएको १५ वर्षसम्म सर्वसाधारणको अवस्था नसुध्रेपछि गणतन्त्र भन्दा नि राजाको पाला नै ठीक रहेछ भन्न थालेका हुन् ।

त्यसैले १५ वर्षअघि सत्ता र सम्पत्ति सबै राष्ट्रको नाउँमा सुम्पेर सर्वसाधारण नागरिक सरह जीवन व्यतित गरिरहनुभएका राजारानीको अघिपछि कुनैपनि दलमा नलागेका हजारौं नीरिह सर्वसाधारण खुलेरै लाग्न वाध्य भएका हुन् । हामीलाई हाम्रा ‘अभिभावक भनैकै राजा हुन र सबैले मान्ने भनेकै राजसंस्था नै रहेछ भनेर उनीहरु भन्न थालेका छन् । अधिकांश जनताको यो भनँई सहि र सत्य पनि हो ।

भलै यतिखेर राजसंस्था पुर्नवहालीको लागि भनेर मेडिकल व्यवसायी दुर्गा प्रसाई हुन या उनको ठाउँमा अन्य जोसुकैले नेतृत्व लिएपनि जनता राजा र राजसंस्थाको पक्षमा खुलेरै लाग्न थालेको कुरामा दुईमत छैन । जसको कारण जनताको उत्थानमा भन्दा आफ्नो स्वार्थ सिद्ध गर्न लागेका नेताहरु तिल्मिलाउन थालेका छन् ।

विना सुरक्षा जुनसुकै ठाउँमा जतिखेर पनि खुला रुपमा छाती फुकाएर हिँड्न सक्ने आँट राजा बाहेक अरु कसैको पनि देख्न सकिँदैन पनि ।
अनि राष्ट्रपति र प्रधानमन्त्री राजनैतिक दलको मात्रै भएता पनि ‘राजा सबै जनताका साझा हुन्’ भन्ने कुरा असोज महिनामा भक्तपुरमा राजाको अघिपछि स्वस्फूर्तरुपमा आएका जनताको भीडले दर्शाइसकेको छ ।

मंसीर ७ गते राजा र राजसंस्थाको पक्षमा हुन लागेको देशव्यापी जमघटले पनि नेपालको राजनीतिमा ठुलै झट्का दिने संभावना देखिएको छ । किनकी ‘पहिला नेपाल अनि पो हामी नेपाली रहेछौं’ भन्ने तथ्य सबै नेपालीले ढिलै भएपनि बुझिसके ।

(तस्वीर स्रोत : सामाजिक सञ्जाल)