९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सल्लाघारीमा च्याङ्ग्रादेखि खसी लिनेसमम्मको भीड



अ+ अ-

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ । आज फूलपातीका दिन सवारी साधनमा बलि दिनका लागि बोका लिन आउने र दसैँका लागि आवश्यक मासुका लागि च्याङ्ग्रादेखि खसी लिन आउनेको भीड लागेको छ ।

दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्राको बिक्री कम भएको छ । यहाँ चीनबाट ल्याइएको चिनियाँ च्याङ्ग्राभन्दा नेपालका च्याङ्ग्रा प्रतिकिलो रु तीन सय ५० सस्तोमा बिक्री भइरहेको छ । व्यापारी उद्धव खड्काले बझाङबाट ल्याएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सय ५० मा बिक्री भइरहेको जानकारी दिनुभयो ।

यो मूल्य गत वर्षको भन्दा केही बढी हो । यहाँका व्यापारीले २०७८ सालमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु आठ सय र २०७९ सालमा प्र्रतिकिलो रु एक हजार तीन सयमा बिक्री गरेको र यस वर्ष रु एक हजार तीन सय ५० मूल्य राखेर बिक्री गरेका छन् ।

च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङको घारमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले मूल्य बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभई प्रतिगोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिर्नु परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।”

अर्का व्यापारी रमेश खड्काले मुस्ताङमा चिनियाँ व्यापारीसँग सानो च्याङ्ग्रा प्रतिगोटा रु ३५ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा खरिद गरेर ल्याएको जानकारी दिँदै किलोमा बिक्री गर्दा महँगो हुन गएको बताउनुभयो । भेडा भने प्रतिकिलो रु आठ सयमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडाच्याङ्ग्राको परीक्षण गरेर ल्याए पनि बीचबीचमा प्रहरीले दु:ख दिने गरेको गुनासो गर्नुभयो । उहाँले बाटोमा प्रहरीले विभिन्न बहानामा दु:ख दिने, पैसा माग्ने, दसैँ खर्चदेखि मोबाइल रिचार्जसमेत गर्न लगाएको उहाँले गुनासो गर्नुभयो ।

अर्का व्यापारी शङ्कर श्रेष्ठले भने प्रहरीले मात्रै नभई पालिकाहरुले समेत व्यापारीलाई दोब्बर कर तिराएर दु:ख दिने गरेको सुनाउनुभयो । श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य परीक्षण गरेर भेटेरिनरीको बिल ल्याए पनि बीचबीचमा बाटोमा प्रहरीले भेटरिनरीको बिलमा विभिन्न प्रश्न उठाएर दु:ख दिने गरेका छन्, भेटरिनरीको बिल काटेको ७२ घण्टापछि किन नल्याएको भन्छन्, रु एक हजारदेखि रु दुई हजारसम्म जरिवानाको नाममा रकम तिर्नु परेको छ ।”

व्यापारी श्रेष्ठले मुस्ताङमा निकासी कर तिरेर ल्याउँदा पनि र बाटोको विभिन्न ठाउँमा निकासी कर भनेर ठाउँठाउँमा पालिकाहरुले फेरि पनि कर भनेर रकम लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले ढुवानी गाडीमा किन भेडाच्याङ्ग्रा ल्याएको भन्दै ठाउँठाउँमा दु:ख दियो, एउटै च्याङ्ग्राको पनि ठाउँठाउँमा कर तिर्नुपर्ने, ढुवानी गाडीमा च्याङ्ग्रा ल्याउन पाइँदैन भन्ने च्याङ्ग्रा बोक्ने सवारी साधन कस्तो हुन्छ प्रहरीले भनिदिनु पर्‍यो ।”

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि यस वर्ष निकै बढाएका छन् । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार आठ सयमा व्यापारीले बिक्री गरेको छन् । २०७८ सालमा च्याङ्ग्राको तयारी मासु प्रतिकिलो रु एक हजार सात सय र २०७९ सालमा रु दुई हजार ६ सयमा बिक्री गरेको मासु यस वर्ष रु दुई हजार आठ सयमा बिक्री गरेको व्यापारीहरुले बताएका छन् ।

सल्लाघारीमा खसी भने व्यापारीले प्रतिकिलो रु ६ सय ८० देखि ६ सय ९० सम्ममा बिक्री गरेको छन् । यहाँ करिब दुई हजारवटा खसी ल्याएकामा व्यापारीले रु ६ सय ८० भन्दा कम मूल्यमा बिक्री नगरेको बताएका छन् । रासस